बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ५०० दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै, नयाँ ५०० दरका २३ करोड थान नयाँ नोटहरूको प्रचलनमा ल्याउनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जनाएको छ ।
नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताहरूलाई गोप्य शिलबन्दी बोलपत्र पेस गर्नका लागि आह्वान गरिएको छ । इच्छुक आपूर्तिकर्ताले आगामी मे ३ तारिखसम्म बोलपत्र पेस गर्न सक्नेछन । बोलपत्र पेस गर्ने क्रममा २० हजार रुपैयाँ अथवा १४४ अमेरिकी डलर, १३३ युरो वा ११२ पाउन्ट स्टेर्लिङको शुल्क लाग्ने छ ।
नेपाल राष्ट्र बैंकले यसका लागि प्रिक्वालिफिकेसन प्रक्रिया अन्तर्गत ६ वटा विदेशी कम्पनीलाई छनौट गरिसकेको छ । यी कम्पनीहरूमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस र पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्कस रहेका छन ।
प्रिक्वालिफिकेसनमा चयन भएका यी ६ वटा कम्पनीले अब बोलपत्र पेस गर्न सक्नेछन्, र सबैभन्दा कम लागतमा नोट छाप्ने प्रस्ताव प्रस्तुत गर्ने कम्पनीलाई राष्ट्र बैंकले बैंक नोट छाप्ने ठेक्का दिनेछ ।