March 21st, 2025

लघुवित्तले फेरियो सरिता कुमारीकाे दैनिकी

कैलाली जिल्लाको जानकी–३, सुवर्णपुरमा जन्मेकी सरिता कुमारी थारुको जीवन कहिल्यै सहज थिएन। कठिन संघर्ष र अभावले भरिएको उनको विगत आज एक प्रेरणादायी कथामा परिणत भएको छ।

सरिता कुमारी थारुको परिवार निकै दयनीय अवस्थाबाट गुज्रिरहेको थियो। आम्दानीको कुनै सुनिश्चित स्रोत थिएन, श्रीमान्को आम्दानी नहुँदा परिवार चलाउन पनि मुस्किल थियो। गाउँलेहरू सधैं हेप्थे, कहिलेकाहीं त कसैले सहयोगको साटो अपहेलना गर्थे। आर्थिक अभावका कारण बालबच्चालाई राम्रो शिक्षा दिन सक्ने अवस्था थिएन।

२०७० सालको चैत्र महिनामा सरिताले पहिलो पटक छिमेक लघुवित्त वित्तीय संस्था को बारेमा सुनेकी थिइन्। सुरुवातमा उनलाई विश्वास थिएन कि कुनै संस्था सानो लगानीमार्फत जीवन परिवर्तन गर्न सक्छ। तर जब उनले सदस्यता लिइन्, उनको संघर्ष र समर्पणले नयाँ मोड लियो।

सरिताले छिमेकबाट पहिलोपटक सानो मात्रामा ऋण लिएर भैंसीपालन व्यवसाय सुरु गरिन्। उनले थोरै संख्यामा भैंसी खरिद गरिन्, तर मेहनत र लगनशीलताले गर्दा व्यवसाय विस्तार हुँदै गयो। सरिताले घाँसका लागि आफ्नै जग्गामा खेती सुरु गरिन्, जसले भैँसीको लागि पर्याप्त आहार आपूर्ति गर्न मद्दत गर्यो। उनले बंगुर तथा कुखुरापालन पनि सहायक व्यवसायका रूपमा अघि बढाइन्।

अहिले सरिता कुमारी थारुको परिवार आत्मनिर्भर भइसकेको छ। बच्चाहरूलाई बोर्डिङ स्कूलमा पठाएकी छिन्, राम्रो शिक्षा दिइरहेकी छिन्। उनका श्रीमान् पूर्ण रूपमा उनको व्यवसायमा सहयोग गर्छन्। अहिले उनको खोरमा १५–२० उन्नत जातका भैंसीहरू छन्, जसबाट दिनहुँ मनग्य दूध उत्पादन हुन्छ। उनको आम्दानी लाखौँ रुपैयाँमा पुगेको छ। परिवारले चल-अचल सम्पत्ति, गरगहना, र बैंकमा बचत समेत गर्न सफल भएको छ।

पहिले समाजबाट अपहेलित भएकी सरितालाई अहिले गाउँलेहरूले सम्मानका साथ हेरिरहेका छन्। उनीहरू उनको मेहनत र सफलताप्रति अचम्म मान्छन्। सरिताले आफूजस्तै कठिनाइमा परेका असहाय र दिनदुःखीहरूलाई सकेसम्म सहयोग गर्दै आएकी छन्। जो अरूलाई प्रेरणा दिन्छ, ऊ नै असली सफल व्यक्ति हो भन्ने कुराको उदाहरण सरिताले दिएकी छिन्।

सरिता भन्छिन्, “छिमेक मेरो माइतीभन्दा राम्रो लाग्छ। छिमेकले मेरो भाग्य बदलिदियो। म अत्यन्तै आभारी छु।” साना पूँजीबाट सुरु गरिएको व्यवसायले आज उनलाई आर्थिक रूपमा सम्पन्न मात्र होइन, आत्मसम्मानको भावनासमेत दिएको छ। यो कथा सपना देख्न चाहने, संघर्ष गर्न सक्ने, र आफूलाई बदल्न चाहने जो–कोहीका लागि प्रेरणादायी छ। इच्छा, आत्मबल, मेहनत र सही अवसरको सदुपयोग गरियो भने असम्भव भन्ने केही हुँदैन।