March 17th, 2025

राष्ट्र बैंकका सहप्रवक्ता डा.पोख्रेलद्वारा जिम्मेवारी हस्तान्तरण

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम पोख्रेलले आजदेखि उक्त जिम्मेवारीबाट विश्राम लिएका छन्। करिब २० महिनाको कार्यकाल पूरा गरेपछि उनले अब नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालयको कायम मुकायम कार्यकारी निर्देशकको रूपमा जिम्मेवारी सम्हाल्ने छन्।

डा.पोख्रेलले बैंकका नीतिगत तथा वित्तीय गतिविधिहरूको जानकारी सम्प्रेषण गर्न पाएको अवसरलाई स्मरण गर्दै सबै सञ्चारकर्मी,सरोकारवालाहरू तथा सहकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, कार्यव्यस्तताका कारण कतिपय फोन कलहरू समयमै उठाउन नसकेकोमा क्षमायाचना गर्दै भविष्यमा पनि नेपाल राष्ट्र बैंकसँग निरन्तर सहकार्यको अपेक्षा राखेका छन्।

अबदेखि नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारीका रूपमा निर्देशक सुमन नेउपानेले जिम्मेवारी सम्हाल्ने छन्। डा.पोख्रेलले नेउपानेसँग पनि विगतझैं प्रभावकारी सहकार्य हुने विश्वास व्यक्त गरेका छन्। नेपाल राष्ट्र बैंकका गतिविधिहरूमा संलग्न सम्पूर्ण पक्षहरूप्रति कृतज्ञता व्यक्त गर्दै, डा. पोख्रेलले आगामी भूमिकामा पनि बैंकको सुशासन, पारदर्शिता र कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।