बैंकिङ खबर/आजदेखि ‘ग्लोबल मनी विक – २०२५’ अभियान सुरू भएको छ। यस वर्षको अभियानको नारा ‘Think before you follow, wise money tomorrow’ राखिएको छ, जसले वित्तीय साक्षरतामा थप बल पुर्याउने उद्देश्य राखेको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने यो अभियानको यो तेह्रौं संस्करण हो।
नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँग सहकार्य गर्दै ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गरेको हो। काठमाण्डौस्थित विभिन्न विद्यालयका कक्षा ७ देखि ९ सम्मका लगभग ६०० विद्यार्थीहरूको सहभागीता रहेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरे।
गभर्नर अधिकारीले वित्तीय साक्षरताको महत्त्वमा प्रकाश पार्दै, वित्तीय सेवाहरू छनोट गर्दा आफ्ना आवश्यकताका आधारमा उपयुक्त उत्पादन चयन गर्नुपर्ने महत्त्वपूर्ण धारणा प्रस्तुत गरे। उहाँले भने, “बैंक तथा वित्तीय संस्थाका आफ्ना प्रडक्ट हुन्छन्। बचत र कर्जाका फरक–फरक सर्त र ब्याजदर हुन्छन्, त्यसैले तपाईंलाई उपयुक्त हुने प्रडक्ट मात्र चयन गर्नुपर्छ।”
पछिल्लो समय डिजिटल वित्तीय कारोबारको विस्तारसँगै थप चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकता रहेको विषयमा पनि गभर्नर अधिकारीले सतर्कता अपनाउन आग्रह गरे। कार्यक्रमको उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै अन्य बैंकका कार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण र सहकारी विभागका उच्च अधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रमको दोस्रो सत्रमा प्यानल छलफल पनि आयोजना गरिएको थियो, जहाँ नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग र बैंकर्स एसोसिएशनका अधिकारीहरूले विद्यार्थीलाई वित्तीय सेवासम्बन्धी महत्त्वपूर्ण जानकारी दिएका थिए। प्यानल छलफलको सहजीकरण नेपाल राष्ट्र बैंकका निर्देशक हिमप्रसाद न्यौपानेले गरेका थिए।
यस अभियानअन्तर्गत विभिन्न प्रकारका वित्तीय सचेतना अभिवृद्धि कार्यक्रमहरू चल्नेछन्, जसमा बैंकिङ, पुँजी बजार, बीमा र सहकारी सेवाका विषयमा विद्यार्थीहरूलाई सूचना र चेतना दिने कार्यक्रमहरू आयोजना गरिनेछन्। यस अभियानमा सहभागिता जनाउने प्रमुख उद्देश्य भनेको विद्यार्थीहरूमा वित्तीय साक्षरताको प्रवद्र्धन र पहुँच विस्तार गर्नु हो।
‘ग्लोबल मनी विक’ अभियानले विशेष गरी किशोर, किशोरी र युवा वर्गलाई वित्तीय शिक्षाको महत्त्व र वित्तीय सेवाको प्रयोगका बारेमा जानकारी दिनको लागि विश्वव्यापी रूपमा थालिएको हो। यो अभियान सन् २०१२ देखि संसारभर सञ्चालन हुँदै आएको छ र नेपालमा २०१३ देखि मनाइँदै आएको हो। यस अभियानबाट अहिलेसम्म १७६ भन्दा बढी मुलुकका ६ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएका छन्।




