बैंकिङ खबर/ नागरिक लगानी कोष (सीआईटी) ३५औं वर्षमा प्रवेश गरेको छ । २०४७ सालमा चैत ४ गते स्थापना भएको कोषले सोमबार ३५औं वर्ष पूरा गरेकोमा विशेष कार्यक्रम आयोजना गर्दैछ । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पुँजी वृद्धिका साथसाथै लगानीका अवसरहरु बढाउन तथा पूँजीबजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य राखेर कोषको स्थापना भएको हो ।
उक्त उद्देश्य प्राप्तिका लागि कोषले सर्वसाधारण, विभिन्न संगठित संघ–संस्थामा कार्यरत कर्मचारी/कामदार तथा संगठित संघ–संस्थाहरुबाट समेत विभिन्न कार्यक्रम अन्तर्गत बचत संकलन गरी त्यसरी संकलित बचत रकमलाई दक्ष र व्यवसायिक ढंगबाट लगानी प्रबन्ध गर्दै आएको छ । कोषले पुँजी बजार सम्बन्धी मर्चेन्ट बैंकरको रूपमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य, शेयर रजिष्ट्रारको कार्य र धितोपत्र प्रत्याभुतिको कार्य गर्दै आएको छ । साथै विदेश स्थित नेपाली नागरिकहरुबाट समेत विविध प्रकारका बचत कार्यक्रममार्फत बचत संकलन गर्न सक्ने कोषको ऐनमा भएको प्रावधानले कोषले यस तर्फ समेत आफ्नो सेवा विस्तार गर्न आवश्यक कार्यविधि बनाउने कार्य गरिरहेको छ ।
पुँजीकोष वृद्धि गर्न सफल
साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणलाई स्वीकृत गर्नुका साथै आम्दानी बाँडफाँट हिसाबबाट छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) गरी १३ प्रतिशत लाभांश स्वीकृत गरेको छ । यसअनुसार कोषले नियमित रूपमा आफ्ना सेयरधनीलाई उचित प्रतिफल दिन सफल भएको छ । स्थापनाकालमा दुई करोड ४४ लाख रुपैयाँ चुक्तापुँजी भएको कोषको पुँजीमा धेरै ठूलो वृद्धि भएको छ ।
३० औँ साधारण सभापछि कोषको चुक्तापुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ पुगेको छ । आव २०८०/८१ को साधारण सभाले स्वीकृत गरेको वित्तीय विवरण अनुसार सहभागी कोष दुई खर्ब ३६ अर्ब रहेको र लगानी दुई खर्ब ४८ अर्ब रहेको छ । केन्द्रीय हिसाबतर्फ सो आवमा एक अर्ब १५ करोड खुद नाफा भएको छ ।
सात कार्यक्रम/योजना सञ्चालन
कोषले हाल विभिन्न सात कार्यक्रम-योजना सञ्चालनमा ल्याएको छ । यी योजनामा कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता हिसाब योजना, राष्ट्रसेवक कर्मचारी जीवन बिमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष रहेका छन् । कर्मचारी बचत वृद्धि अवकाश कोषमा निजामती कर्मचारी वा सरकारी÷अर्धसरकारी वा प्रचलित कानुनबमोजिम स्थापित गैरसरकारी संगठित संस्थामा कार्यरत कर्मचारी सहभागी हुन सक्छन् ।
उपदान तथा पेन्सन योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी यस योजनामा सहभागी हुन सक्छन् । पेन्सन प्राप्त गर्न सहभागीको उमेर ५८ वर्ष वा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ । राष्ट्रसेवक कर्मचारी जीवन बीमा कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायतमा कार्यरत राष्ट्रसेवकको जीबन बिमाका लागि प्रिमियम रकम संकलन हुने र सोको व्यवस्थापन गरिने कार्य हुने गरेको छ ।
लगानीकर्ता अवकाश योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी योजनामा सहभागी हुन सक्ने छन् । कर्मचारीको औषधोपचार खर्च, कल्याणकारी कोष, बिमा कोष, हित कोष, वार्षिकोत्सवबापतको कोष, सञ्चित बिदालगायतका दायित्व व्यवस्थापनका लागि यस योजनामा सहभागी हुन सकिन्छ ।
नागरिक एकांक योजना अन्तर्गत साना तथा मध्यम स्तरका लगानीकर्ताबाट रकम संकलन गर्ने र सो पुँजीलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रवद्र्धन गरी सोबाट प्राप्त भएको प्रतिफल सहभागीलाई वितरण गर्ने गरिन्छ । नागरिक पेन्सन योजनामा सबै नेपाली नागरिक सहभागी हुन सक्छन् । यसमा गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकसमेत सहभागी हुन सक्ने व्यवस्था कोषले गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्को बिमा कोषमा नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारीको मासिक पारिश्रमिकबाट तोकिएको रकम कट्टा गरी सोमा परिषद्को तर्फबाट त्यति नै रकम थप गरी कोषमा जम्मा भएको रकमलाई लगानी गर्ने र सोबाट परिषद्का कर्मचारीको बिमा व्यवस्था गर्न यो कोष सञ्चालन गरिएको हो ।
कोषको लगानी क्षेत्र
चालु आवको पुस मसान्तसम्म कोषले दुई खर्ब ६४ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कोषको लगानी दुई खर्ब ३५ अर्ब पाँच करोड रुपैयाँ रहेको थियो । यस अनुसार यस अवधिमा १२.६४ प्रतिशतले लगानी वृद्धि भएको छ ।
कुल लगानीमध्ये मुद्दती निक्षेपमा करिब ५२ प्रतिशत लगानी रहेको छ भने नेपाल सरकारको ऋणपत्रमा ०.१९ प्रतिशत, समयकालीन कर्जामा ९.७४, सहायक कम्पनीमा १.०३, सहभागी सापटी तथा आवास कर्जामा २०.७५, ट्रेजरी बिलमा ४.४४, संगठित संस्थाको सेयर-धितोपत्रमा ११.६७ प्रतिशत लगानी छ । आगामी दिनमा सरकारी प्राथमिकताका भौतिक पूर्वाधारका परियोजना, कृषि, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा तथा पुँजी बजारका क्षेत्रमा लगानी बढाउँदै लैजाने योजना कोषको रहेको छ ।
जलविद्युत् परियोजनामा लगानी
लगानी विविधीकरणका लागि कोषले आफ्नो लगानी नीति र कर्जा कार्यविधिमा केही परिमार्जन गरेको छ । लगानी विविधीकरणका क्षेत्रगत कुरा गर्दा माथि उल्लेख गरिए अनुसार अहिलेको परिवेशमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माणका परियोजना, कृषि, पर्यटन, मझौला उद्योग जस्ता उत्पादनशील क्षेत्र, पुँजी बजार क्षेत्र एवं आफ्ना सहभागीलाई प्रदान गरिने कर्जा नै हुन् ।
यसै सन्दर्भमा कोषले जलविद्युत् परियोजनामा लगानी गर्न थालेको छ । पुँजी बजारका विभिन्न उपकरणमा लगानी बढाउने गरी कार्य अघि बढाइएको छ । सरकारी ऋणपत्रमा समेत लगानी वृद्धि गर्दै लगिएको छ । सहभागीलाई प्रदान गरिने कर्जाको सिलिङ बढाइएको छ ।
नागरिक लगानी कोष ऐनको प्रस्तावनामै ‘देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउन एउटा नागरिक लगानी कोषको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएको’ उल्लेख छ । त्यसैले कोषले पुँजी बजारको विकासमा सघाउ पुर्याउने गरी विभिन्न कार्य गरिरहेको छ । यसै सन्दर्भमा कोषले मर्चेन्ट बैंकका रूपमा समेत विभिन्न सेवा प्रदान गर्ने गर्छ ।
यसका अलावा कोषले पुँजी बजारका विभिन्न उपकरण सेयर, बन्ड, डिबेन्चरलगायतमा लगानी गर्छ । कोषले दोस्रो बजारमा सेयर खरिदबिक्रीको कार्यसमेत गर्ने गरेको छ । पुँजी बजारको विकासमा सघाउ पु¥याउने क्रममा कोषले सहायक कम्पनीका रूपमा नागरिक स्टक डिलर कम्पनीको स्थापना गरेको हो । यस कम्पनीले समेत पुँजी बजारको विकासमा सघाउ पु¥याइरहेको छ ।
सरल, छिटोछरितो एवं झन्झटरहित
कोषले सहभागीको हित र सहभागीलाई प्रदान गर्ने सेवालाई सरल, छिटोछरितो एवं झन्झटरहित बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ । सेवा प्रभावकारी बनाउन एवं कोषको हिसाबकिताबलाई चुस्त÷दुरुस्त राख्न यान्त्रिकीकरण (डिजिटलाइजेसन र अटोमेसन) को कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको छ ।
सेवाग्राहीलाई सूचना लिने सुविधाका लागि सिआइटी स्मार्ट मोबाइल एप कार्यान्वयनमा रहेको छ । राष्ट्रसेवक कर्मचारीबाट संकलन हुने रकमलाई सरकारको केन्द्रीय लेखा प्रणाली (सिजिएएस) बाट लिने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ भने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)सँग कोषको कोर सफ्टवेयरलाई आबद्ध गर्ने कार्य भइरहेको छ ।
यसबाट स्थानीय निकायका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकको कर्मचारी बचत वृद्धि कोष र सावधिक जीवन बिमा कोषको कोष कट्टी विवरण सोझै सूत्रमार्फत कोषको सफ्टवेयरमा आउनेछ । कोषको इसर्भिस पोर्टलबाट कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीले विशेष सापटीका लागि अनलाइन आवेदन दिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यही पोर्टलबाट अफिस लगइन गरी नयाँ सहभागी ग्राहकको कोषमा खाता खोल्न सकिने व्यवस्थासमेत मिलाएको छ ।
कोषले अटोमेसनको माध्यमबाट सेवालाई सहज, सरल बनाउँदै लगेको छ भने कार्यालयमा भौतिक रूपमा उपस्थित हुने/हुनुपर्ने ग्राहकलाई हेल्प डेस्क व्यवस्था गरी आवश्यक सूचना उपलब्ध गराउने र विभिन्न शाखामा ग्राहकलाई सरल तरिकाले सेवा प्रदान हुने व्यवस्था मिलाएको छ । हाल विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स एआईले कार्यालयको काममा धेरै सहयोग पुर्याउने र कार्य प्रणालीमा ठूलो सहजता ल्याएको भन्ने छ । कोषले पनि एआईको प्रयोग गर्ने दिशामा आवश्यक अध्ययन अघि बढाएको छ । कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सम्हालेपछि कोषले तीव्र गतिमा रफ्तार लिएको हो ।




