March 6th, 2025

नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति बनाउने सरकारको तयारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न सरकारले अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाउनका लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते समाप्त हुँदैछ। अधिकारीलाई सरकारले २०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरेको थियो। अधिकारी गभर्नरमा नियुक्ति भएको समयमा प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. युवराज खतिवडा थिए।

सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने व्यवस्था रहेको छ। यता, गर्भनर अधिकारी पुन: गर्भनर हुने आशमा छन्। यद्यपी, स्रोतमा अनुसार यस पटक गभर्नर कांग्रेसको भागमा परेको छ। हाल कांग्रेस र एमालेको संयुक्त सरकार रहेको छ।

गभर्नरको बन्नका लागि हालका डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्रलगायतका व्यक्तिले लबिङ सुरु गरेका छन्। ३ जनाको नाम सिफारिस हुँदा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने भएकोले उनीहरू २जनामध्ये एउटाको नाम मन्त्रिपरिषद्सम्म पुग्ने निश्चित छ। सिफारिस भएका ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने व्यवस्था छ।