February 21st, 2025

चलनचल्तीका सिक्का सटही गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका १ र २ रूपैयाँका सिक्का सटही गर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले साेमबार एक सूचना जारी गर्दै १ र २ रूपैयाँका सिक्का सटही गर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको हो।

ती सिक्का टक्सार महाशाखाबाट साट्न सकिनेछ। सूचनामा उल्लेख भएअनुसार आफूसँग चलनचल्तीमा रहेका १ र २ रुपैयाँका कम्तीमा १०० रुपैयाँ बराबरका सिक्का सटही गरेर सोबापत रकम प्राप्त गर्न सकिन्छ। सटहीबापतको रकम नगद, आईपीएस वा चेकमार्फत भुक्तानी दिइने महाशाखाले जनाएको छ।

यदि कुल रकम २० हजार रुपैयाँभन्दा माथिका सिक्का सटही गर्नुपर्ने भएमा महाशाखाको फोन नं. ०१–४१०२१८४ मा सम्पर्क गरी पूर्वजानकारी दिनुपर्नेछ। त्यसपछि महाशाखाले तोकिएको मिति तथा समयमा सिक्का सटहीका लागि बोलाउनेछ। सटहीका लागि महाशाखामा ल्याइने सिक्का सफा र डिजाइन प्रस्ट देखिने हुनुपर्दछ।

डिजाइन मेटिएको, कोरिएको र विकृत सिक्का सटही गर्न इन्कार गर्न सकिने पनि महाशाखाले प्रस्ट पारेको छ । महाशाखाबाट चलनचल्तीमा रहेका १ र २ रुपैयाँका सिक्काबाहेक अन्य सिक्का, स्मारिका सिक्का, असर्फी, मेडालियन आदि सटही नहुने सूचनामा उल्लेख छ।