February 20th, 2025

यी हुन् एफपीओ आउने तयारीमा रहेका कम्पनीहरु

बैंकिङ खबर/ विभिन्न कम्पनीहरुले एफपिओ निष्कासनको तयारी गरेका छन् । स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तले एफपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । बुटवल पावर कम्पनी, नेसनल लघुवित्त, विन नेपाल, विजय र किसान लघुवित्तले एफपिओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन्।

स्वरोजगार लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता एफपिओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको छ।

कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ। विन नेपाल लघुवित्तले १०० रूपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रूपैयाँ बराबरको ५१ हजार २९२।५० कित्ता एफपिओ जारी गर्न धितोपत्र बोर्डले माघ ३० गते अनुमति दिएको हो।

यस्तै, बुटवल पावर कम्पनीले प्रतिकित्ता २०६.२९ रूपैयाँमा १ करोड कित्ता एफपिओ बिक्रीका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। यस अनुसार कम्पनीले २ अर्ब ६३ करोड रूपैयाँ बराबरको एफपिओ जारी गर्नेछ। यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ। नेसनल लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँका दरले ६ करोड ६९ लाख ९० हजार २७ रूपैयाँ बराबरको ६ लाख ६९ हजार ९०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो।

विजय लघुवित्तले १०० रूपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रूपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ बिक्री गर्न अनुमति मागेको हो। यसको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ। यस्तै, किसान लघुवित्तले १०० रूपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रूपैयाँ बराबरको १६ लाख ६६ हजार ९६५ कित्ता एफपिओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ।