काष्टमण्डप डेभलपमेण्ट बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका १६ करोड ९९ लाख ७४ हजार एक सय ७० रुपैयाँ बराबरका १६ लाख ९९ हजार चार सय ७१ दशमलव ७० कित्ता हकप्रद सेयर सर्वसाधारण सेयरधनीका लागि निष्काशन गरेको हो ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेड, कमलपोखरी, काठमाडौं र काष्ठमण्डप डेभलपमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखाहरुमार्फत उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ ।
उक्त हकप्रदका लागि आवेदन दिने म्याद आगामी विहीबार (मंसिर ३० गते)सम्म रहेको छ । सो दिन बैंकिङ समयभित्रमा आवेदन दिइसक्नुपर्ने बताइएको छ ।
हाल काष्टमण्डप डेभलपमेन्ट बैंकको चुक्तापुँजी ६७ करोड ९८ लाख ९६ हजार छ सय ८० रुपैयाँ रहेको छ । उक्त हकप्रद निष्काशनपश्चात् बैंकको चुक्तापुँजी ८४ करोड ९८ लाख ७० हजार आठ सय ५० रुपैयाँ पुग्नेछ । काष्टमण्डप राष्ट्रिय स्तरको विकास बैंक हो । आगामी असार मसान्तसम्ममा बैंकले चुक्तापुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्नेछ ।