२०८१ फाल्गुन ७ गते

अटो व्यवसायले बैंकिङ सहयोग पाएनः करण चौधरी

बैंकिङ खबर/ अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले अटो व्यवसायलाई अत्यावश्यक व्यवसायमा वर्गीकरण गर्न माग गरेका छन् । अटो व्यवसाय विलासिताका क्षेत्रमा पर्दा बैंकिड लगानीदेखि व्यवसाय वृद्धिमा राज्यबाट आवश्यक सहयोग नपाएको बताउँदै चौधरीले अटो व्यवसायलाई उत्पादनमूलक क्षेत्रमा वर्गीकरण गर्न माग गरेका हुन् ।

चौधरीले सवारी साधन व्यक्तिको आर्थिक उन्नतिको अत्यावश्यक वस्तु भएकाले उत्पादनमूलक व्यवसायमा वर्गीकरण गर्न समस्या नहुने बताए । उनले अर्थतन्त्र चलायमान बनाउन अटो क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अटो क्षेत्र चलायमान हुँदा अर्थतन्त्रमा ९ प्रतिशतसम्म योगदान पुग्ने बताए ।

अध्यक्ष चौधरीले अटो व्यवसायप्रति राज्य सहयोगी नहुँदा व्यवसायीहरू पलायन हुन लागेको बताउँदै स्वदेशमै बसेर अटो व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरे । उनले भने, ‘अटो व्यवसायमा १ खर्बभन्दा बढी लगानी रहेको छ । अटो व्यवसायले करिब एक लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अटोमोबाइल क्षेत्र जस्तो ठुलो करदाता र रोजगारी सिर्जना गर्ने व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण राम्रो छैन ।’