गत सातादेखि नै गिरावटको क्रममा रहेको सेयर बजारले यो साताको सुरुवात पनि गिरावटबाटै गरेको छ । आइतबार सेयर बजार २१.८८ अंकले घटेको छ । बजार खुलेको सुरुदेखि नै निरन्तर घटिरहेको सेयर बजार १५२२.८० अंकमा पुगेर बन्द भएको हो । उत्पादनमूलकबाहेक आइतबार कारोबार भएका सबै समूहहरु घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १४७.५ अंकले घट्दा जलविद्युत् ७३.६ अंकले घटेको छ भने होटल ६९.१३ अंकले घटेको छ । त्यस्तै, बैंकिङ, विकास बैंक, फाइनान्स र अन्य समूह क्रमशः १८.२९, २३.९८, ११.८४ र २.६१ अंकले घटेका छन् । उत्पादनमूलक भने ११.७ अंकले बढेको छ ।
कारोबारमा पनि उल्लेख्य गिरावट आएको छ । दिनभरिमा जम्मा ४० करोडको मात्रै कारोबार भएको छ । १४१ वटा कम्पनीको सात लाख सातसय ३६ कित्ता सेयर तीन हजार आठ सय १९ पटक किनबेच हुँदा कुल ४० करोड ५५ लाख ५७ हजार एक सय आठ रुपैयाँ पुँजी परिचालन भएको हो ।
कुल कारोबारमध्ये एभरेष्ट बैंकको सबैभन्दा धेरै तीन करोड १७ लाख २३ हजार ५७ रुपैयाँको कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको दुई करोड ७७ लाख, सिद्धार्थ बैंकको साढे दुई करोड र बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक र माछापूछ्रे बैंकको एक करोडमाथिको कारोबार भएको छ भने चिलिमे हाइड्रो, स्टान्डर्ड चार्टर्ड बैंक, मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको क्रमशः ९३ लाख, ९० लाख, ८९ लाख र ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार जम्मा १६ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । नमस्ते वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै ७.८९ प्रतिशतले कमाएका छन् भने एनबि इन्स्योरेन्सका सेयरधनीले ७.४१ प्रतिशत र हिमालयन डिस्टीलरीका सेयरधनीले ५.७७ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आईएमई समुन्नत स्किम १, माछापूछ्रे बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, काबेली विकास बैंक, वोमी माइक्रोफाइनान्स, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १, बोटलर्स नेपाल, नेको इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, समिट माइक्रोफाइनान्स, युनियन फाइनान्स र एनआईबिएल समृद्धि फण्ड १ का सेयरधनीले कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको अपि पावर कम्पनीका सेयरधनीले ९.८१ प्रतिशतका दरले गुमाउँदा पोखरा फाइनान्स र अरुण फाइनान्सका सेयरधनीले क्रमशः ९.६२ र ९.२७ प्रतिशतका दरले गुमाएका छन् । सानिमा माई हाइड्रो, जेविल्स फाइनान्स र लुम्बिनी फाइनान्सका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । नेशनल हाइड्रो, रिलायन्स फाइनान्स, छिमेक लघुवित्त, राप्तीभेरी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।