January 25th, 2025

राष्ट्रिय व्यापार संघले मनायो २० औं साधारणसभा

 

बैंकिङ खबर/ राष्ट्रिय व्यापार संघको २० औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाट्न गर्दै प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले व्यवसायिक वातावरणमा निक्कै गिरावट आएकाले करको दायरा १३ प्रतिशतलाई १० प्रतिशतमा झार्न आफु सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाए । व्यवसायीहरु विभिन्न समस्याहरुबाट गुज्रिनुपरेको बताउँदै उनले विदेशी सामानहरुको आयातलाई कम गर्दै स्वदेशी उत्पादनलाई बढाउनका लागि आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष हिमलाल खरालले विभिन्न उतारचढावकाबीच संघ २० औं वर्षमा प्रवेश गरेको बताउँदै स्थापनाकालदेखि नै संघले व्यवसायीक हकहितका साथै सामाजिक कार्यलाई पनि उत्तिकै प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए ।

संघले रक्तदानका कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, अनाथ, अपाङ्ग तथा वृद्धवृद्धाहरुलाई आर्थिक सहयोग, महामारीमा राहत वितरण, महाशिवरात्रीको अवसरमा पशुपतिमा निःशुल्क फलफूल वितरण, गरिव, जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको उनले बताए ।

व्यवसायीहरुलाई कुनै समस्या परेमा संघमा खबर गर्न आग्रह गर्दै उनले आफूले संघको कार्यभार सम्हाल्दै गर्दा व्यवसायीहरुको समस्या समाधान गर्न निरन्तर लागि परेको बताए । संघको करको दरभन्दा पनि दायरा फराकिलो पार्नुपर्छ भनेर निरन्तर सरकारलाई घच्घच्याईरहेको उनले बताए ।

लगानीमैत्री वातावरणको अभावले उत्पादनशिल वस्तु तथा सेवाक्षेत्रमा लगानी बढ्न नसक्दा देश अत्यधिक आयातमूखी हुन गई व्यापार व्यवसायमा स्वदेशी लगानीकर्ता घाटा व्यहोर्न बाध्य भएको बताउँदै उनले घाटा कम गर्न स्वदेशमा बनेका सामानहरु प्रयोग गरि स्वदेशी उत्पादनको खपत बढाउन आवश्यक रहेको सुझाव दिए ।

संघका पूर्वअध्यक्ष, सल्लाहकार, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले संस्थाको साधारणसभाको शुभकामना दिदैं आगामी दिनमा पनि व्यवसायीहरुका हकहितका लागि निरन्तर काम गर्दै जान आग्रह गरेका थिए । संघका महासचिव केदारप्रसाद न्यौपानेले संचालन गरेको कार्यक्रमको समापन संघका प्रथम उपाध्यक्ष रामचन्द्र पराजुलीले गरेका थिए ।