नवराज कुँवर- ०७२ सालको सीमा साँघुरिदै जाँदा बैंक तथा वित्तीय संस्थाहरु चुक्ता पुँजी पुर्याहाल्ने रणनीतिका साथ अघि बढीरहेका छन् । यी संस्थाहरुलाई आफ्नो वर्गअनुसार २०७४ असार मसान्तसम्म केन्द्रीय बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउनैपर्ने बाध्यता छ । यदि त्यतिबेलासम्म चुक्ता पुँजी पुर्याउन नसकेको खण्डमा आफ्नो संस्था के होला भन्ने पिरलोले पनि उनीहरु धमाधम चुक्ता पुँजी पुर्याउने प्रयासमा जुटेका हुन् ।
खासगरी अधिकांश वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याउने पक्कापक्की भईसकेको छ । त्यसका लागि उनीहरुले लगानीकर्तालाई आर्थिक वर्षको लाभांश दिएर भए पनि चुक्ता पुँजी बढाउँदैछन् । त्यसैगरी विकास बैक र अन्य वित्तीय संस्था पनि मर्जर, एक्वीजिशन, बोनश र हकप्रदमार्फत पुँजी बढाउन लागि परिहेका छन् ।
अहिलेलाई हेरौँ बोनश घोषणा गरेका वाणिज्य बैंकहरु
०७४ मसान्तसम्म चुक्ता पुँजी ८ अर्ब पुर्याउने प्रयासमा अहिलेसम्म २८ मध्ये १७ वाणिज्य बैंकहरुले आफ्ना लगानीकर्तालाई बोनश दिने घोषणा गरेका छन् ।
सबैभन्दा बढी कुन बैंकले दियो बोनश ?
बोनश सेयर घोषणा गरेका १७ वाणिज्य बैंकमध्ये एभरेष्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई ७० प्रतिशत बोनस सेयर दिनेछ । वाणिज्य बैंकहरुमध्ये एभरेष्टले आफ्ना लगानीकर्तालाई दिएको यो सबैभन्दा बढी लाभांस हो ।
सबैभन्दा कम बोनश दिने बैंक
आफ्ना लगानीकर्तालाई मेगा बैंकले १३.९५ प्रतिशतमा बोनश दिनेछ । वाणिज्य बैंकहरुमध्ये मेगाले आफ्ना लगानीकर्तालाई दिएको यो सबैभन्दा कम लाभांस हो ।
सबैभन्दा बढी नगद लाभांस दिने बैंक
वाणिज्य बैंकमध्ये सबैभन्दा धेरे नेपाल इनभेष्टमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई नगद लाभांश दिँदैछ । उसले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद गरी ४१ प्रतिशत लाभांस दिने भएको हो ।
सबैभन्दा बढी र सबैभन्दा कम लाभांश तथा नगद लाभांश दिएका बैंकबाहेक अन्य १४ बैंकले पनि आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । नविल बैंकले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी ४५ प्रतिशत लाभांश दिएको छ । यस्तै एनबी बैंकले ३२ प्रतिशत बोनस र १.६८ प्रतिशत नगद गरी ३३.६८ प्रतिशत लाभांशको घोषणा गरेको छ । सनराइज बैंकले पनि ३३.३३ प्रतिशत बोनस सेयर दिनेछ । स्ट्यान्डर्ड चार्टर बैंकले ३५.०७ प्रतिशत बोनस, ग्लोवल आइएमईले १६ प्रतिशत वोनस सेयर, सिटिजन्स बैंक इन्टरनेसनलले १६.६३ प्रतिशत, एनएमवी बैंकले २० प्रतिशत लाभांश र सानिमा बैंकले १५.०७९ प्रतिशत बोनश सेयर घोषणा गरेका छन् । यस्तै सिद्धार्थ बैंकले ४८.७५ प्रतिशत, हिमालयन बैंकले ३१.५७ प्रतिशत, एनआइसी एसिया बैंकले २७.३६ प्रतिशत, माछापुच्छ्रे बैंकले २१.८३ प्रतिशत र प्राइम कमर्सियल बैंकले २४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।