बैंकिङ खबर/ कंचनपुरको पुनर्वास नगरपालिका-५ मा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार एक भव्य समारोहकाबीच पुनर्वास-६ स्थित जीवन ज्योती माध्यमिक विद्यालयको खेल मैदानमा वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष दिना निरौलाको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा नगर उपप्रमुख भुलिया कुमारी राना, नगरपालिकाका सहकारी प्रमुख धौलराम सार्की,पुनर्वास-४,५,६ का वडाध्यक्ष मनोज जैशी,पदम बहादुर रोकाया,मित्र सिंह लामा,साना किसान अत्तरीया शाखाका प्रबन्धक आसिन रहेका थिए ।
त्यस्तै,केन्द्रीय दुग्ध सहकारीका सञ्चालक सदस्य भरत बिष्ट, सहकारी नगर समन्वयका अध्यक्ष शंकर केसी,दलित सहकारीका अध्यक्ष राजकुमार रायमाझी,साना किसान कालिकाकी अध्यक्ष मिना बिष्ट ,प्रवन्धक चिरमाया तामाङ,साना किसान पराशनका अध्यक्ष धर्मकला पौडेल, व्यवस्थापक अमृता गौतम सुवेदी अतिथि रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा सहकारीको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दै सहकारीमा बाह्य ऋण मात्रै नथुपार्न सञ्चालकलाई सुझाव दिएका थिए ।
संस्थाकी अध्यक्ष दिना निरौलाले वर्ष दिनमा सहकारीको बार्षिक कार्यक्रममा शेयर सदस्यहरुले सहभागी भइ संस्थाको उद्देश्य र कार्यकम सफल बनाउनु पर्ने र समसामहिक सुझाव दिनुपर्ने बताइन् ।
४ सय ६५ समुहमा २ हजार ८ सय ४८ शेयर सदस्यहरु रहेको सो सहकारीले गत आर्थिक वर्षमा ६ करोड ३८ लाख ३२ हजार ९ सय ७३ रुपैयाँ आम्दानी देखाएकोमा ४ करोड ६६ लाख ८२ हजार ८ सय ५० रुपैयाँ खर्च देखाउदा १ करोड ७१ लाख ५० हजार १ सय २३ रुपैयाँ संस्थालाई मुनाफा भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाकी उपाध्यक्ष गंगा रोकायाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक कल्पना चापागाईंले गरेका थिए ।