बैंकिङ खबर/ बैंकहरुले लगानी विस्तार गर्न नसक्दा पैसा थप्रिएको छ । अहिले बैंकहरुमा तरलता फालाफाल छ । यसैबीच बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ४० अर्ब खिच्न खोज्दा बैंक तथा वित्तीय संस्थाहरुले १९ अर्बको लागि मात्रै आवेदन दिएका छन् । पुस ९ गते राष्ट्र बैंकले बजारबाट ४० अर्ब खिच्नको लागि प्रस्ताव आह्वान गर्दा बैंकहरुले १९ अर्ब २५ करोडको लागि मात्र प्रस्ताव गरेका हुन्।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १२ दिनको लागि आज निक्षेप संकलन बोलकबोल उपकरण मार्फत ४० अर्ब रकम खिच्नको लागि सूचना जारी गरेको थियो। यस बोलकबोलमा ९ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएर १५ वटा प्रस्ताव परेको राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले १९ अर्ब २५ करोड प्रस्ताव गरेपनि राष्ट्र बैंकले १९ अर्ब २० करोड निक्षेप संकलन गरेको छ ।
बैंकहरुले अधिकतम ३ प्रतिशत र न्युनतम २.८९२५ प्रतिशत ब्याजमा सो रकम राख्न प्रस्ताव गरेका थिए । राष्ट्र बैंकले भारित औसत ब्याजदरको रुपमा २.९९६१ प्रतिशत ब्याजमा सो रकम संकलन गरेको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था थियो।