२०८१ पुष ११ गते

बैंकिङ क्षेत्रमा झन् चुलिँदै संकट

बैंकिङ खबर/ बैंकिङ क्षेत्रमा झन् पछि झन् संकट चुलिन थालेको छ । बुधबार मात्रै कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित भएको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकबाट राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गरेको हो । बैंकको व्यवस्थापनमा कैफियत देखिएको तथा खराबकर्जा ४१ प्रतिशतमथि पुगेको भन्दै राष्ट्र बैंकले यसअघि बैंकलाई समस्याग्रस्त उन्मुख घोषणा गरेको थियो ।

बुधबारको सञ्चालक समितिले बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि सोही ऐनको दफा ८६ को (ग) अन्तर्गत रहेर बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको छ । योसँगै उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको गभर्नरको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ। समूहले भोलिदेखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ।
नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।

व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यु डिलिजेन्स अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको छ।

बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेपको दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो। यसअघि राष्ट्र बैंकले गरेको निरीक्षणमा निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको भेटिएको थियो।

यो मात्रै होइन् । यसअघि पनि नेपाल बंगलादेश बैंक, नेपाल विकास बैंक, सेयर मार्केट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सजस्ता बैंक तथा वित्तीय संस्थाहरु यसैगरी समस्याग्रस्त घोषणा भएका थिए । ती मध्ये नेपाल बंगलादेश बैंक उक्सिएको थियो भने नेपाल विकास बैंकलाई एक वाणिज्य बैंकले प्राप्ति गरेको थियो । सेयर मार्केट फाइनान्स र क्यापिटल मर्चेन्ट अहिले पनि उक्सिन सकेका छैनन् ।

बढ्दो खराब कर्जा : बिक्न छाडे लिलामका घरजग्गा

बैंक तथा वित्तीय संस्थामा ऋणीले लगेका ऋणको साँवा र ब्याज असुल हुने क्रम उच्च दरमा घटेको छ । पछिल्लो समय क्षमता हुने व्यक्तिले पनि साँवा र ब्याज तिर्न छाडेका छन् । मंसिर मसान्तसम्म साँवा ब्याज तिर्नेको संख्या अपेक्षा गरेभन्दा पनि घटेको छ ।

चालु पुँजी कर्जा सम्बन्धी मापदण्ड कार्यान्वयनमा आउनुको साथै कर चुक्ता प्रमाणपत्रका आधारमा मात्रै व्यक्तिगत प्रकृतिको कर्जा दिने क्रम सुरु भएपछि कर्जाको माग सुस्त भएको बैंकरहरु बताउँछन् ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको साँवा र ब्याज तिर्नु नपर्ने गरी विवादित बयान दिएपछि क्षमता भएका व्यक्तिहरुले समेत बैंकको साँवा र ब्याज नतिरेको बैंकरहरु बताउँछन् । साँवा र ब्याज उठ्ने क्रम सुस्त हुँदा बैंकको निष्क्रिय कर्जा निरन्तर बढीरहेको बैंकरहरुको भनाइ छ ।

विकास बैंकहरूलाई पनि गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा सकस

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म विकास बैंकहरूले सकार गरेको गैरबैंकिङ सम्पत्ति (एनबीए) बढेर तीन अर्ब ६४ करोड ९५ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब २६ करोड ४२ लाख ८० हजार रुपैयाँँ बढी हो । गत वर्ष सबै विकास बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति दुई अर्ब ३८ करोड ५२ लाख ७० हजार रुपैयाँ थियो ।

२०८१ कात्तिक मसान्तसम्म महालक्ष्मी विकास बैंकको गैरबैंकिङ सम्पत्ति ५९ करोड ५२ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

जुन गत आर्थिक वर्ष (आव)को सोही अवधिमा महालक्ष्मीमा ५४ करोड ६५ लाख रुपैयाँँ रहेको थियो । क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति एक करोड ४२ लाख ८० हजार रुपैयाँँ छ । जुन गत आर्थिक वर्षमा शून्य थियो ।

साँग्रिला डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति गत कात्तिकसम्म ३० करोड सात लाख ३० हजार रुपैयाँँ छ । जुन गत वर्ष सोही अवधिमा २७ करोड ५९ लाख ६० हजार रुपैयाँँ थियो ।

एक्सेल र मितेरी डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति पनि क्रमशः १५ करोड ७४ लाख ७० हजार रुपैयाँ र दुई करोड २३ लाख ९० हजार रुपैयाँँ छ । गत वर्ष कात्तिकमा क्रमशः १५ करोड ७४ लाख ७० हजार रुपैयाँ र दुई करोड १६ लाख १० हजार रुपैयाँँ थियो ।

कात्तिक मसान्तसम्म मुक्तिनाथ विकास बैंकसँग ४३ करोड १६ लाख ५० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन गत वर्ष कात्तिकमा २३ करोड ११ लाख ३० हजार रुपैयाँँ थियो ।

यसैगरी गरिमा विकास बैंकसँग २१ करोड ४७ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष १८ करोड ७२ लाख ७० हजार रुपैयाँँ थियो । कामना सेवा विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३५ करोड २१ लाख ४० हजार रुपैयाँँ छ ।

जुन गत वर्ष ३३ करोड ४४ लाख ४० हजार रुपैयाँँ थियो । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकसँग ११ करोड ९१ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष १० करोड ८१ लाख ७० हजार रुपैयाँँ थियो ।

विकास बैंकहरूमध्येमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति ज्योति विकास बैंकसँग छ । ज्योति विकास बैंकसँग गत कात्तिकसम्म ८१ करोड ८८ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ ।

एक वर्षअघि यस्तो सम्पत्ति १६ करोड नौ लाख ७० हजार रुपैयाँँ थियो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा गैरबैंकिङ सम्पत्ति बढेर १९ करोड ७५ लाख ४० हजार रुपैयाँँ पुगेको छ ।

गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति नौ करोड तीन लाख ३० हजार रुपैयाँ रहेको थियो । लुम्बिनी विकास बैंकमा भने पछिल्लो समय गैरबैंकिङ सम्पत्ति घटेको छ ।

लुम्बिनीको गैरबैंकिङ सम्पत्ति १८ करोड ८० लाख १० हजार रुपैयाँँ रहेको छ । गत आवको सोही अवधिमा लुम्बिनीमा यस्तो सम्पत्ति २१ करोड ५८ लाख २० हजार रुपैयाँँ रहेको थियो ।

सिन्धु विकास बैंकमा भने पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेर १३ करोड ६१ लाख ९० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा सिन्धुमा यस्तो सम्पत्ति पाँच करोड ३० लाख ३० हजार रुपैयाँँ रहेको थियो ।

साल्पा विकास बैंकमा पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेर २२ लाख २० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति शून्य रहेको थियो ।

सप्तकोशी डेभलपमेन्ट बैंकमा पनि चालू आवको कात्तिक मसान्तसम्ममा गैरबैंकिङ सम्पत्ति बढेर १० करोड ६६ लाख ८० हजार रुपैयाँँ पुगेको छ ।

गत आवको सोही अवधिमा सप्तकोशीमा यस्तो सम्पत्ति २४ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

ग्रीन डेभलपलेन्ट बैंकमा पनि पछिल्लो अवधिमा ५१ लाख ४० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यो बैंकमा यस्तो सम्पत्ति शून्य रहेको थियो ।

छैन कर्जाको माग

कर्जाको ब्याजदर एकल बिन्दुमा झरे पनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कार्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ ।

पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रूपमा घट्दो अवस्थामा छ । ब्याजदर जति घटे पनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन ।

चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन । अहिले बैंकहरूमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ ।

तर बजारमा कर्जाको माग छैन । बैंकहरूलाई यति बेला खराव कर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्न चुनौती देखिएको छ । बैंकहरूमा थुप्रिएर बसेको ७ खर्ब व्यवस्थापन गर्न नसके बैंकहरूमा समस्या आउन सक्ने बैंकरहरूले बताएका छन् ।

बढ्यो खराब कर्जा

असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा अनुपात ४.४२ प्रतिशत छ । जसले पछिल्ला दिनमा वाणिज्य बैंकहरूको लाभांश क्षमता कमजोर बन्दै गएको देखाउँछ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०–८१ को असोज मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकहरूले परिपक्व भएर उठाउन नसकेको ब्याज करिब १ खर्ब ३६ अर्ब पुगेको छ । असोज २०८० मा १ खर्ब २० अर्ब ३८ करोड ९४ लाख थियो । यो भनेको एक वर्षमा १२.८ प्रतिशत बढी हो ।

आउँदो पुसमा खराब ऋण एकदेखि डेढ प्रतिशत विन्दुले बढ्ने प्रक्षेपण बैंकरहरुले गरिसकेका छन् । यसले बैंकहरू झन् प्रेसरमा देखिएका छन् । देशको करिब ८० प्रतिशत ऋण हिस्सा जोडिएका वाणिज्य बैंकहरूको ब्याज नउठ्दा समस्या देखिएको छ । बैंकको खराब कर्जा बढ्दै जानु अर्थतन्त्रका लागि चिन्ताको विषय रहेको विज्ञहरुको भनाई छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार चार वाणिज्य बैंक सञ्चित नोक्सानीमा छन् भने गत वर्ष र चालु आर्थिक वर्षमा पनि करिब आधा वाणिज्य बैंकले शेयर धनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्था छ । निष्क्रिय कर्जा धेरै हुन थालेपछि समयमा ऋण नतिरेर कालोसूचीमा पर्नेको सङ्ख्या पनि बढ्न थाले पनि धितो लिलामी हुने क्रम बढ्ने तर लिलामीमा राखिएका घरजग्गाको कारोबार नुहुनुले बैङ्कहरूका लागि जटिल सङ्केत गर्दछ ।

१३ बैंकिङ संस्थाका यस्तो खराब कर्जा ७ प्रतिशतदेखि ३४.८१ प्रतिशतसम्म पुगेको छ।खराब कर्जा उच्च दरमा हुनेमा विकास बैंक र वित्त कम्पनीहरू छन्।

नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्सको खराब कर्जा सबैभन्दा धेरै छ। यिनको खराब कर्जा क्रमशः ३४.८१ प्रतिशत र ३४.६४ प्रतिशत छ। समृद्धि फाइनान्सको खराब कर्जा २३.४७ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १४.७७ प्रतिशत, पोखरा फाइनान्सको १४.४४ प्रतिशत छ।

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १३.५६ प्रतिशत, एक्सेल डेभलपमेन्टको ११.७३ प्रतिशत, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत छ।त्यस्तै, नेपाल फाइनान्सको १०.३६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत खराब कर्जा छ। प्रोग्रेशिभ फाइनान्सको खराब कर्जा ७.४७ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको भने ७.२७ प्रतिशत खराब कर्जा रहेको पहिलो त्रैमासको वित्तीय विवरणबाट देखिन्छ।

बैंकबाट ऋण लिने व्यक्ति अत्यन्त कम

बैंकमा तरलता फालफाल भएपनि ऋण लिनेको संख्या भने अत्यन्त कम रहेको पाइएको छ । बैंक तथा वित्तीय संस्थामा रकम राख्नका लागि खुलेका निक्षेप खाताको तुलनामा ऋण लिनका लागि खोलिएका खाताको संख्या पनि झण्डै ३० गुणा कम छ । यसबाट बैंकमा रकम जम्मा गर्ने धेरै व्यक्तिहरु भए पनि बैंकबाट ऋण लिने व्यक्ति अत्यन्त कम रहेको प्रष्ट हुन्छ । अर्कोतर्फ यसले बैंकहरुबाट सहज रुपमा कर्जा नपाइने तथ्यलाई समेत उजागर गरेको छ । बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा कर्जा खाता खोल्ने क्रम घटेकाले यस्तो अन्तर बढ्दै गएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको कात्तिकसम्म कुल ५ करोड ७२ लाख २६ हजार ३ सय ३ वटा निक्षेप खाता खुलेका छन् । सोही अवधिमा १९ लाख १८ हजार ९ सय २६ जना ऋणीले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका छन् । यसरी हेर्दा बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप खाताको तुलनामा ऋण लिने व्यक्तिको संख्या ३.३५ प्रतिशत मात्र रहेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थामा खुलेका समग्र निक्षेप खाताको तुलनामा ऋण लिनका लागि खुलेका खाताको संख्या भने २९.८२ गुणाले कम हो । २०८० को कात्तिकसम्म कुल ५ करोड २९ लाख १ हजार ३१ वटा निक्षेप खाता खुलेका थिए । सोही अवधिसम्म १८ लाख ४६ हजार ७ सय ६४ जनाले कर्जा खाता खोलेका थिए ।

गत आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको कात्तिकसम्म कर्जा खाताभन्दा बचत खाता खोल्नेहरुको संख्या झण्डै ६० गुणा बढी देखिन्छ । यसले पनि बैंकबाट सहजरुपमा कर्जा पाउन मुस्किल नै रहेको बुझिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार १ वर्षको अवधिमा ४३ लाख २४ हजार २७२ बचत खाताहरु थपिएका छन् भने ७२ हजार १६२ वटा कर्जा खाता खोलिएका छन् ।

गत कात्तिकसम्म बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप खाताको संख्या नेपालको कुल जनसंख्या भन्दा बढी हो । नेपालमा एकै व्यक्तिले धेरै बैंकमा पनि निक्षेप खाता खोल्न पाउने सुविधा रहेकाले पनि जनसंख्या भन्दा बचत खाताको संख्या धेरै भएको होे।

राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुमा मात्र सञ्चालनमा रहेका निक्षेप खाताको संख्या ४ करोड ९० लाख ४३ हजार ३९१ र कर्जा खाताको संख्या १५ लाख ९५ हजार ६४५ छ । गत आवको कात्तिक मसान्तसम्मा वाणिज्य बैंकहरुमा ४ करोड ५३ लाख ९८ हजार २०७ वटा निक्षेप खाता र १५ लाख १४ हजार १७६ वटा कर्जा खाता सञ्चालनमा थिए ।

गत कात्तिक मसान्तसम्ममा विकास बैंकहरुमा ७२ लाख ५९ हजार ६४२ वटा निक्षेप खाता र २ लाख ७९ हजार ५२७ वटा कर्जा खाता सञ्चालनमा छन् । त्यस्तै यस अवधिमा फाइनान्स कम्पनीहरुमा ९ लाख २३ हजार २७० निक्षेप र ४३ हजार ७५४ कर्जा खाता सञ्चालनमा रहेका छन् ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा ७ खर्ब ३१ अर्ब ४३ करोड निक्षेप थपिएको छ भने ३ खर्ब ३ अर्ब ८० करोड कर्जा बढेको देखिन्छ । गत कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट कुल ५२ खर्ब ८० अर्ब २८ करोड ३० लाख कर्जा गएको देखिन्छ । कर्जा खाताको आधारमा १९ लाख १८ हजार ९ सय २६ जना ऋणीले बैंक तथा वित्तीय संस्थाबाट सो कर्जा लिएको भन्न सकिन्छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ६६ खर्ब ७६ अर्ब बराबरको निक्षेप छ भने ५३ खर्ब ३३ अर्ब हाराहारीमा कर्जा गएको छ । निक्षेप रकमको ९० प्रतिशतसम्म बैंकहरुले कर्जा लगानी गर्न पाउँछन् ।