बैंकिङ खबर/ बैंकिङ कसुरका घटना दिनप्रति दिन बढ्दै गएको पाइएको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार २०८१ साउनदेखि कात्तिकसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र २ हजार ६२९ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । गतवर्ष सोही अवधिमा उपत्यकामा २ हजार ३७९ मुद्दा दर्ता भएका थिए ।
बैंकिङ कसुरसम्बन्धी घटना सबैभन्दा धेरै काठमाडौं उपत्यकाको प्रहरी कार्यालयहरूमा दर्ता हुने गरेको छ । पछिल्लो ४ महिनामा देशभरका प्रहरी कार्यालयमा ४ हजार ३५९ मुद्दा दर्ता भए । गत आर्थिक वर्ष (आव) को सोही अवधिमा ४ हजार १९० मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाउँछ छ । कुल मुद्दा संख्याको ५७ दशमलव ७७ प्रतिशत उपत्यकामा दर्ता भएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले जानकारी दिए ।
बैंकको निक्षेप जथाभावी अपचल गर्ने र बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा बैंकिङ कसुर मान्ने गरिएको छ । अपचलन तथा निक्षेप कम भए पनि जानीजानी चेक काट्ने र अरुलाई छल्ने प्रवृत्ति ह्वात्तै बढ्दा प्रहरीमा मुद्दाको चाङ लाग्न थालेको अधिकारीहरूको भनाइ छ ।
त्यस्ता मुद्दा हेर्न प्रहरीलाई सकससमेत पर्ने गरेको छ । अधिकारीहरूका अनुसार प्रहरीमा यससम्बन्धी मुद्दा हेर्न छुट्टै युनिट आवश्यक छ । अहिलेको जनशक्ति यसबारे धेरै जानकार नभएको, प्रविधिको समेत अभाव रहँदा प्रहरीमा वित्तीय अपराध हेर्न सकस परिरहेको एसएसपी अधिकारीले बताए ।