नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र यती डेभलपमेण्ट बैंक लिमिटेडबिच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र यती डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर शर्माले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।
यस प्रणालीमार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सकिनेछ । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ ।
यस प्रणालीका लागि कम्पनीले ६६ बैंक तथा वित्तीय संस्थाहरुसँग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीहरु तथा १ मर्चेन्ट बैकिङ्ग कम्पनीसंग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । यती बैंकसँगको यस सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संस्था ७१ पुगेकमो छ । हाल उक्त प्रणालीमार्पmत दैनिक औसत एक अर्ब रुपैयाँ बराबरको २५ सय कारोबार हुँदै आएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गर्दै आएको NCHL-ECC सेवामार्फत आफ्ना १०९ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,८०६ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ । गत भदौ १ गतेदेखि ५८ सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा पनि संचालनमा ल्याइसकेको छ । यो सेवा ग्राहकले सदस्य बैंक वित्तीय संस्थाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।