बैंकिङ खबर/ वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। उनीहरुले सामान्य बचतमा ३ प्रतिशतमा सीमित छ भने मुद्दती खातामा ६ प्रतिशत हाराहारीमा तोकेका छन्।
बैंकहरुले मंसिर महिनाबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्दा कात्तिकको तुलनामा अधिकांशको घटेको छ । पछिल्लो समय निक्षेपको ब्याजदर घटेर बैंकमा पैसा थुप्रिए पनि कर्जा प्रवाह भने सुस्त छ ।
बैंकहरुको बेसरेट समेत घटेको छ । यसले लगानीकर्ताले लिने ऋणको ब्याज समेत घट्दै गइरहेको छ । पछिल्लो समय लगानी नबढ्दा बैंकमा रकम थुप्रिँदै गएको र सर्वसाधारण वा संस्थागत बचतको ब्याजदर घट्दै गएको छ।
कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?
नेपाल बैंकले मुद्दती निक्षेपमा ५.९५ प्रतिशत र सामान्य बचतमा ३ प्रतिशत मात्रै ब्याज दिएको छ। नबिल बैंकको बचत खाताको ३ प्रतिशत र मुद्दती खाताको लागि अधिकतम ५.७५ प्रतिशत छ। बैंकको बेसरेट ७.०२ प्रतिशत छ।
कृषि विकास बैंकको साधारण बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ५.५३ प्रतिशत छ। लक्ष्मी सनराइज बैंकले बचत खातामा ३ प्रतिशत ब्याज दिँदा ५ वर्ष बढीको मुद्दती खतामा ५.७५ प्रतिशत दिएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सामान्य बचतमा ३ प्रतिशत र २ वर्षमाथिको बचतमा ६.५ प्रतिशत ब्याज दिने भएको छ। यता सिद्धार्थ बैंकले सामान्य बचत खातामा ३ प्रतिशत, २ वर्षमाथिको मुद्दतीमा ६ प्रतिशत ब्याजदर तोकेको छ।
एनएमबी बैंकले बचत खातामा ३ प्रतिशत र ५ वर्षमाथिको मुद्दतीमा ५.५७ प्रतिशत ब्याज दिनेछ। सानिमा बैंकको बचत खाताको ब्याजदर ३.०४ प्रतिशत छ भने ३ वर्षमाथिको मुद्दती खाताको ६.१५ प्रतिशत ब्याजदर छ।
प्राइम बैंकले बचत खातामा ३ प्रतिशत तोक्दा १ वर्षमाथिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याज दिने भएको छ। राष्ट्रिय वाणिज्य बैंकको सामान्य बचत खातामा ३ प्रतिशत ब्याज दिएको छ। बैंकले ३ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिएको छ।
एभरेस्ट बैंकले ३ महिनादेखि २ वर्षसम्म ४ प्रतिशत र ५ वर्ष बढीको मुद्दती खातामा ६ प्रतिशत ब्याज दिँदा हिमालयन बैंकले ३.०५ प्रतिशत बचत खाताको ब्याजदर तोकेको छ। बैंकले मुद्दतीमा ६.२५ प्रतिशत ब्याज दिनेछ।
ग्लोबल आईएमई बैंकमा सामान्य बचत गर्नेले ३ प्रतिशत पाउँदा २ वर्ष बढीको मुद्दती निक्षेप गर्नेले ५.७५ प्रतिशत ब्याज पाउनेछन्।
कुमारी बैंकले २ वर्ष बढीको बचतमा ५.७१ प्रतिशत ब्याज दिएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले सामान्य बचत खातामा ३ प्रतिशत दिएको छ। बैंकले ५ वर्ष बढीको बचत खातामा ६.२५ प्रतिशत ब्याज दिएको छ।
एनआईसी एसिया बैंकमा ५ वर्ष माथिको मुद्दती खातामा पैसा जम्मा गर्दा ६.७९ प्रतिशत ब्याज आम्दानी गर्न सकिनेछ। यता प्रभु बैंकको बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ५ प्रतिशत ब्याज तोकिएको छ।
त्यसैगरी माछापुच्छ्रे बैंकले मुद्दती खातामा ६ प्रतिशत ब्याज दिँदा सिटिजन बैंकको मुद्दती खातामा रकम जम्मा गर्नेले अधिकतम ५.६५ प्रतिशत ब्याज पाउने भएका छन्।
त्यसैगरी नेपाल एसबीआई बैंकको सरल बचत खातामा ३.०२ प्रतिशत छ भने ३ वर्ष माथिको मुद्दती खातामा ६ प्रतिशत ब्याज मिल्नेछ।