November 12th, 2024

‘कात्तिक ३० गते बैंक दिवस मनाऔं’   

उदिप लुइटेल

सामान्यतया मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम सन्चालन गरिने संगठित संस्थालाई बैंक भनिन्छ । बैंक एक वित्तीय संस्था हो, जहाँ वचतकर्ताको  निक्षेप जम्मा गरेवापत निक्षेपकर्तालाई तोकिएको दरले ब्याज प्रदान गर्दछ, संकलित निक्षेपको समेत सुरक्षा गर्दछ र यसको सुरक्षा गर्नु बैंकको दायित्व पनि हो । बैंकले एकातिर निक्षेप सुरक्षित गर्ने जिम्मा लिन्छ भने अर्कोतर्फ किसान, ब्यवसायी, एवम सर्बसाधारण जनतालाई बहुमुल्य धातु , घरजग्गा, धितोपत्र वा सम्पत्ति धितो राखी कर्जा प्रदान गर्दछ र निश्चित दरले ब्याज असुली कर्जाको आवश्यकता पुरा गरिदिन्छ । 

बैंकिङ इतिहास

विश्वोको बैंकिङ इतिहास लाई हेर्दा सर्बप्रथम इटलीमा सन ११५७ मा बैंक अफ भेनिस को स्थापना भएको पाईन्छ । त्यस्तै सन १४०१ मा बैंक अफ बर्सिलोन , १४०७ मा बैंक अफ गेनोय , १४७२ मा मन्टी डाइ पस्ची डि सेलेना इटाली र १६०९ मा बैंक अफ अमेस्टरडम को स्थापना भएको पाईन्छ ।

यि बैंकहरुलाई विश्वो बैंकिङ इतिहासको आधार स्तम्भ मानिन्छ ।  जुन देशहरुमा औधोगिक क्रान्ति (उधोग कलकारखाना स्थापना ) भयो त्यस्ता देशरुमा बैंकिङ क्षेत्रको बिकास अन्य देशको तुलनामा पहिले भएको पाईन्छ । यसरी बैंक तथा वित्तीय संस्थाहरु र उधोग, ब्यापार ब्यवसायलाई एक अर्काको परिपुरकको रूपमा लिने गरिन्छ ।

नेपालमा आधुनिक बैंकको स्थापना हुनु अगाडि

नेपालको इतिहासलाई फर्केर हेर्दा १४ औं शताब्दीमा राजा जयस्थिती मल्लले मानिसहरुको कार्यक्षेत्रको आधारमा ६४ जातीमा वर्गीकरण गरेको पाइन्छ । जसमध्ये टंकधारी जातीका मानिसहरु व्यापार व्यवसाय गर्ने, ऋण प्रदान गर्ने  क्षेत्रमा आवद्ध रहेको पाइन्छ । वि.स १९३३ मा राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बने र वि.स १९३४ मा उनले तेजरथ अड्डाको स्थापना गरे। तेजरथ अड्डाको मुख्यकार्य सुन,चाँदी धितोराखी आमसर्वसाधारण जनताहरुलाई ऋण प्रदान गर्नुथियो । त्यस समयमा सरकारी कर्मचारीहरुको व्यक्तिगत जमानीमा ५ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्ने गरेको इतिहासको पानाहरुमा पढ्न पाइन्छ।

वि.स १९९० माघ २ गते नेपालको भूकम्प इतिहासमा सबैभन्दा बिभत्स र विनाशकारी भूकम्पलाई सामना गर्नु पर्यो प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा , निर्व्याजी ऋृण सुविधा दिइ तत्कालीन राष्ट्रिय विपतबाट पार पाउने प्रयास गरेका थिए । उक्त समयमा विभिन्न विदेशी दात्री संस्थाहरुबाट आर्थिक सहयोगहरु आउन थालेको पाईन्छ।

आधुनिक बैंकको स्थापना

भुकम्प पश्चात बिस्तारै उठदै गरेको नेपालको अर्थतन्त्र र तिब्बतसँगको बढ्दो ब्यापारको कारण नेपालमा बैंक नहुनाले देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परिरहेकोले मुलुकको समुन्नति तथा जनतालाई सेवा पुर्याउने उदेश्यकासाथ नेपालको पहिलो आधुनिक बैंकको रुपमा  नेपाल बैंक लिमिटेडको वि.सं.१९९४ कार्तिक ३० गते लक्ष्मी पुजाको दिन नेपाल सरकार र निजी क्षेत्रको संयूक्त लगानीमा स्थापना भयो ।

त्यस समयमा, यस आधुनिक बैंकिङको नयाँ अवधारणालाई धेरै कमले मात्र बुझनुको साथै धेरै कम मात्र यस प्रति विश्वस्त थिए ,फलस्वरुप बचतकर्ताहरुलाई बचत गर्ने बानीको विकास गराउन निकै संघर्षपूर्ण कार्य थियो । स्थापनाको समयमा बैंकको अधिकृत पुँजी रु १ करोड थियो । बैंक स्थापनाको प्रथम वर्षामा कुल निक्षेप रु. १७,०२,०२५ रहेकोमा चल्ती निक्षेप रु १२,९८,८९८ ,वचत निक्षेप रु. १४,१६३ तथा मुद्दती निक्षेप रु. ३,८८,९६४ रहेको थियो । प्रथम वर्षको अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरि जम्मा रु. १९,८५,००० रहेको थियो ।  

 ‘भनिन्छ बुवा भन्दा सन्तान जेठो कहिले हुँदैन’

तर नेपालको बैंकिङ इतिहासमा बुवा भन्दा सन्तान जेठो भएको पाईन्छ। नेपाल मा आधुनिक बैंकिङ पद्धती को सुरुवात सँगै नेपाल बैंक लिमिटेडको १९औं बर्षको  बैंकिङ सेवा पश्चात मात्र  नेपाल राष्ट्र बैंक ऐन २०१२ अन्तर्गत वि.सं. २०१३ बैशाख १४ गते  केन्द्रीय बैंक ‘नेपाल राष्ट्र बैंक’ को स्थापना भयो ।  नेपाल राष्ट्र बैंकको स्थापना भएको ३ बर्षपछी अर्थात बि.स. २०१६ साल फाल्गुन ७ गते नेपाल राष्ट्र बैंकले रु ५, १० र १०० को नोट निस्कासन गर्‍यो ।

नेपाली मुद्राको न्यून आपूर्ति, तराई क्षेत्रका बासिन्दा भारतीय मुद्राकै प्रयोगमा अभ्यस्त लगायत कारणले उक्त अवधिमा दुबै देशको मुद्रा प्रचलन रहेको पाइन्छ।वि.स. २०१६ साल पछी नेपाल राष्ट्र बैंकको प्रमुख उदेश्य नेपालमा भारतिय नोटलाई विस्थापित गरी नेपाली नोट चलन चल्तीमा ल्याउनु थियो । फलस्वरुप २०१७ वैशाखमा पहिलो पटक भारु १०० को नेपाली रुपैयाँ १६० विनिमयदर निर्धारण गरिएपछि भारतीय मुद्राको कारोबारले फरक रूप लिन थाल्यो । बैंक तथा वित्तीय संस्थाहरूले औपचारिक रूपमा मुद्रा विनिमय गर्न थाले र नेपाली मुद्राको प्रचलन पनि बढ्दै गयो ।

विदेशी विनिमय नियन्त्रण गर्ने ऐन २०१९ को वि.स. २०२३ बाट पूर्ण रूपमा कार्यान्वयनपछि नेपालभर नेपाली रूपैयाँ मात्र कानुनी रूपमा सन्चालन हुने व्यवस्था भएको हो । नेपालमा ५४ बर्षको अवधीमा भारतीय मुद्रासँगको विनिमय दरमा आठ पटक पुनरावलोकन गरियो । हाल कायम १०० भारतीय रुपैयाँ खरीद गर्दा १६० रुपैयाँ तिर्नुपर्ने विनिमय दर २०४९ फागुनमा निर्धारण गरिएको हो ।

 स्थापनाको सुरुवाती अवस्थामा यस बैंकले बैंकिङ कारोबारहरू गरे तापनि पछिल्लो अवस्थामा यस बैंकले अन्य निजी तथा सरकारी बैंकहरूको नियमन तथा सुपरिवेक्षण, संरक्षणको काम गर्दै आइरहेको छ । त्यसकारण नेपाल राष्ट्र बैंकलाई बैंकहरूको पनि बैंक अर्थात् केन्द्रीय बैंक भनेर भनिन्छ । वि.सं. २०१६ सालमा नेपाल औद्योगिक विकास निगम (हाल राष्ट्रिय वाणिज्य बैंकसँग बिलय ) को स्थापना भयो । देशमा एउटा मात्र वाणिज्य बैंकले नेपालभरी बैंकिङ सेवा उपलब्ध गराउन असमर्थ भएकोले वि.सं २०२२ माघ १० गते अर्थात् नेपाल बैंक लिमिटेडको २८ औँ वर्षको एकल बैंकिङ सेवा पश्चात  दोश्रो वाणिज्य बैंकको रुपमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना भयो ।

अधिकांश नेपाली कृषि पेशामा आवद्ध रहेको हुनाले देशको कृषि पेशा माथि उठाउने अभिप्रायले वि.सं. २०२४ माघ ७ गते कृषि विकास बैंक (स्थापना कालमा बिकास बैंक र २०६३ सालमा बाणिज्य बैंकमा परीणत ) को स्थापना भयो । वि.सं. २०४० सम्म सरकारी स्वामित्वका बैंकहरूको मात्र उपस्थिति थियो । तर खुल्ला बजार नीति ,उदारीकरण र निजीकरणले गर्दा २०४१ सालमा पहिलो निजी बैंक नेपाल अरब बैंक (हाल नबिल बैंक ) को रूपमा स्थापना भयो ।

बैंकहरुको वर्तमान अवस्था

बैंकिङ क्षेत्रको ८ दशक पुरानो विकासक्रमसँगै बल्ल नेपालमा करिब ६१ प्रतिशत नेपालीको ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामै खाता छ । त्यसमा ‘घ’ र सहकारीलाई पनि जोड्ने हो भने करिब ८० प्रतिशत नेपालीसमक्ष वित्तीय पहुँच पुगेको छ ।

वि.स. २०४० सालसम्म सरकारीस्तरका जम्मा चारवटा बैंक मात्र रहेको अवस्थामा २०८१ भदौसम्म आइपुग्दा नेपालमा वाणिज्य बैंक २० विकास बैंक १७, वित्त कम्पनी १७, लघुवित्त वित्तीय संस्था ५२  र पूर्वाधार विकास बैंक एउटा गरी कुल एक सय १०७ वटा बैंक तथा वित्तीय संस्था संचालनमा छन् । मिती २०८१ असोज ११ गते देखी ७५३ वटै  स्थानियतहमा बैंक तथा वितिय संस्थाको पहुच रहेको देखिन्छ।

बैंक तथा वितिय संस्थाहरुको शाखाहरु आर्थिक वर्ष  २०८१/८२ को भदौ मसान्त सम्ममा ११५३३ पुगिसकेको छ । आर्थिक वर्ष  २०८१/८२ को भदौ मसान्त सम्म आइपुग्द ५२०५ एटीएम सञ्चालनमा छन । मोबाइल बैंकिङ प्रयोग गर्ने नेपालीको संख्या अर्थिक वर्ष २०७३/७४ मा १७ लाख, आर्थिक वर्ष २०७६/७७ मा ९८ लाख हुँदै आर्थिक वर्ष  २०८०/८१ मा २. ५  करोड पुगिसकेको छ ।

नेपाल बैंक

नेपालको अर्थतन्त्रमा मौद्रिकीकरण गरी नेपालीको जीवनशैली सहज, सरल एवं जीवनस्तर उकास्न नेपाल बैंक नाफाप्रेरित मात्र नभई देशका हरेक वर्ग र क्षेत्रमा पनि वित्तीय सेवाको पहुँच पुराउन लागिरहेको छ । देशका सुगम तथा दुर्गम क्षेत्रका बजारमा समेत अर्थिक बर्ष २०८१।८२ को पहिलो त्रैमाशसम्म आइपुग्दा हाल ७७ जिल्लामध्ये ७१ जिल्लामा आफ्ना शाखा सञ्जाल विस्तार गरी २२९ शाखा तथा २०३ एटीएममार्फत स्वचालित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

व्यावसायिक सम्भाव्यताका आधारमा विगतमा बन्द भएका शाखालाई पुनस्र्थापना गर्ने क्रममा बर्सेनि शाखा सञ्जाल विस्तार भइरहेको छ । सरकारी नीतिबमोजिम दूरदराजका स्थानीय निकायमा बैंक शाखा स्थापना गर्न अग्रपङ्क्तिमा रहेर बैंकिङ सेवा प्रदान गरिरहेको देखिन्छ ।

यस बैंकमा करिब २५ लाख ४१ हजार ३ सय ६७  निक्षेपकर्ता र १ लाख ४५ हजार ४०२ कर्जा सापटीका ग्राहक छन् । यसरी बैंकले आफ्ना करिब २७ लाख ग्राहकलाई दैनिक रूपमा बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । नेपाल बैक हिमाल, पहाड, तराई, मधेसका जनताको आफ्नो बैक हो ।

बैंकले निक्षेप, कर्जा सापटी, लगानी, बिल्स, प्रतीतपत्र, बैंक जमानत, सुनचाँदी (सामाजिक) कर्जा, वैदेशिक मुद्रा सटही सुविधा, सन्ध्याकालीन सेवा, अतिरिक्त बैंकिङ सेवा, लकर सेवा, घरदैलोमा बैंकिङ सेवा, पेन्सन भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण, भुक्तानी सेवा, अन्तरशाखा कारोबार, रेमिट्यान्स सेवा साथै नेपालको बैंकिङ क्षेत्रले अवलम्बन गरेका विभिन्न आधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।

अन्त्यमा

नेपाल बैंक लिमिटेडले नेपालको पहिलो बैंकको रूपमा अन्य वाणिज्य बैंकहरूलाई समेत बैंकिङ प्रणालीको नेतृत्व गर्दै अत्याधुनिक बैंकिङ सेवामा समर्पित बनिरहेको छ ।देशमा आएको आमुल परिवर्तनलाई आत्मसाथ गर्दै विभिन्न किसिमको आरोह अवरोह पार गर्दै, आफै चुनौतिपूर्ण घडिबाट गुज्रिँदै गर्दा समेत समग्र बैंकिङ प्रणालीलाई नै थप व्यवस्थित र चुस्त दुरूस्त, आधुनिक र सुरक्षित बन्न महान प्रेरणाको स्रोतको रूपमा समेत नेपाल बैंकले अहम भूमिका निवार्ह गरेको छ ।

कुल गार्हस्थ्य उत्पादनमा ७.३७ प्रतिशत योगदान पुर्‍याएको वित्तीय क्षेत्रको ८ दशक लामो  इतिहासमा हालसम्म पनि हाम्रो देशमा एकीकृत रुपमा राष्ट्रिय बैंक दिवस मनाइएको छैन । नेपालको आधुनिक बैंकिङ क्षेत्रमा बैंकिङ पद्दत्ती भित्र्याइएको दिन र नेपालको बैंकिङ क्षेत्रमा ‘क’,’ख’  सिकाउने बैंकको जन्मदिनलाई राष्ट्रिय बैंक दिवसको रूपमा मनाउन सकिन्छ ।

 लुइटेल हाल नेपाल बैंक लिमिटेडमा कार्यरत हुनुहुन्छ ।