बैंकिङ खबर/ मंगलबार बैंकिङ क्षेत्रका विभिन्न गतिविधिहरु भएका छन् । जसलाई हामीले एउटै पानामा समेट्ने जमर्को गरेका छौं । मंगलबार बैंक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरेका छन् । समग्रमा, बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
नेपाल बैंकर्स संघ बन्यो एसएमई फाइनान्स फोरमको नयाँ सदस्य
नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी/विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य/सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो । यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमा प्रदायकहरू, लगानी कोषहरू, बैंकिङ्ग र एसएमई एसोसिएसनहरू, शैक्षिक संस्थाहरू सामेल छन्, जसले एसएमई केन्द्रित वित्तीय सेवा र सुविधा प्रदान गर्छन् ।
मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित
मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत बैंक वित्तीय सेवा क्षेत्र सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको हो ।
यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक २०२१ म पनि सम्मानित भएको थियो । दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्टस्ले बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्ड विभिन्न विधामा प्रस्तुत गरेको थियो ।
विभिन्न कार्यक्रम गरी कामना सेवा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
हिमालयन लघुवित्तको सञ्चालक समिति अध्यक्षमा नकर्मी चयन
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बिजय मान नकर्मी चयन भएका छन्।
लघुवित्तको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक नकर्मीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको कम्पनी सचिव देवकर कार्कीले जानकारी दिएका छन्।
सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब रु सात अर्ब बचत माग गरेका छन् । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो ।
सोमबार एक हजार ६०० पीडितले सात अर्ब रूपैयाँ दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए ।
समता घरेलु लघुवित्तको एफपिओ यसै साता बाँडफाँट
समता घरेलु लघुवित्तको एफपिओ यसै साता भित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल यसै साता भित्र एफपिओ बाँडफाँटको तयारीमा जुटेको हो ।
क्यापिटलले भन्यो, ‘कम्पनीको एफपिओ यसै साता भित्र बाँडफाँट गर्ने गरि काम गरि रहेका छौं । हामी सकेसम्म कात्तिक २९ गते भित्र बाँडफाँट गरि सक्छौं होला । केहि समय अपुक भएको खण्डमा मात्रै अर्का साता जान सक्छ तर सकेसम्म यहि साता भित्र बाँडफाँट हुन्छ ।’