October 10th, 2024

सातामा २०३.७७ अंकले बढ्यो सेयर बजार

बैंकिङ खबर/सात कारोबार दिन (१३–२३ असोज)मा सेयर बजार परिसूचक नेप्से २०३.७७ अंकले बढेको छ । १३ असोजमा परिसूचक २४६४.४ विन्दुमा पुगेको थियो । त्यसपछि निरन्तर बढिरहेको परिसूचक २३ असोजमा २६६८.१७ विन्दुमा पुगेको हो । बिहीबारदेखि दसैँको लामो बिदा चल्ने भएकाले पाँच दिन कारोबार बन्द रहन्छ ।

१३ असोजमा कारोबार ३ अर्ब ९५ करोड रुपैयाँ भएको थियो । १५ असोजमा कारोबार बढेर सात अर्ब ४८ करोड पुगेको थियो । त्यसपछि कारोबार संकुचित बन्दै गएर बुधबार ३ अर्ब ७६ करोडमा सीमित बनेको थियो । बुधबार बजार पुँजीकरण ४२ खर्ब ४२ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ ।

दसैँअघिको अन्तिम कारोबार हुने दिन युनाइटेड मोदी हाइड्रोपावर र मिड सोलु हाइड्रेपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ । अपर साङ्गे हाइड्रोपावर र राप्ती हाइड्रो एन्ड जेनरल कन्सट्रक्सनको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक सेयर कारोबार नेपाल फाइनान्स कम्पनीको भएको छ । यो कम्पनीको २२ करोडको सेयर किनबेच भएको छ भने सानिमा बैंकको १८ करोड ९८ लाखको भएको छ । समूहगत परिसूचकमा विकास बैंक ०.३८ प्रतिशत, व्यापार समूह ०.६५ प्रतिशत, लगानी समूह ०.२२ र जीवन बिमा समूहको परिसूचक ०.०१ प्रतिशतले घटेको छ ।