October 2nd, 2024

नेरूडे मिर्मिरे लघुवित्तद्वारा ८ लाख बढी बीमा दावी रकम हस्तान्तरण

बैंकिङ खबर/ काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था झापा बुधबारे शाखाले ८ लाख बढी बीमा दाबी रकम हस्तान्तरण गरेको छ । जागृती नेरूडे मिर्मिरे व्यवसायिक समूहका सदस्य लिलाप्रसाद ढुंगेलको दुःखद निधन पश्चात, निजकी श्रीमती मनिषा ढुंगेललाई बीमा दावी तथा काजक्रिया खर्च वापत रू. ८ लाख ३९ हजार ४ सय ५६ रकम भुक्तानी गरिएको छ ।

बुधबार आयोजित एक विशेष कार्यक्रमकाबीच, बुद्धशान्ति गाउँपालिका वडा नं. ५ का वडा सदस्य नरबहादुर कुमालले उक्त बीमा दावी रकम स्थानीय भद्रभलादमी तथा केन्द्रका सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडासदस्य कुमालले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सदस्यहरूसंग लिने मात्र नभइ विभिन्न सेवा प्रदान गर्ने र उनीहरूको आर्थिक सुरक्षा तथा विपत्तिको समयमा सहयोग पु¥याउँदै आएको भन्दै संस्थाको कार्यको प्रशंसा गरे । उनले यसले कमजोर आर्थिक अवस्थामा रहेका सदस्यहरूको सम्पत्ति सुरक्षित राख्न मद्दत पुगेको बताए ।

लिलाप्रसाद ढुंगेलको निधनपछि गर्भवती अवस्थामा रहेका उनकी श्रीमती मनिषा ढुंगेलले यो बीमा रकमले आफू र आफ्नो सन्तानको जीवनयापनमा ठूलो सहयोग पुगेको भन्दै संस्थाप्रति आभार प्रकट गरिन् । कार्यक्रममा बुधबारे शाखाका शाखा प्रमुख इन्द्रजित चौधरी र अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । नेरूडे मिर्मिरे लघुवित्तले आफ्ना सदस्यहरूको सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीसँग म्यादी जीवन बीमा गरिरहेको छ, जसअन्तर्गत यस्तो सहयोग उपलब्ध गराइएको हो ।