डा.नीलम ढुंगाना तिम्सिना
डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक
वित्तीय साक्षरता र उद्यमशिलता
जो उद्यमी व्यवसायी नेपालमै अडिनु भएको छ, उहाँहरुलाई देख्दा श्रद्धाले शिर निहुरिन्छ । आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँदा नेपाली युवाहरु विदेशीन लर्को लागेको देख्दा बैराग लागेर आउँछ । तर जो उद्यमी यही नेपालमा अडिनुभएको छ, उद्यम गर्नु भएको छ , उहाँहरुलाई श्रद्धा गर्नुपर्छ ।
वित्तीय साक्षरता अभिवृद्धि गर्नका लागि नेपाल राष्ट्र बैंक अहोरात्र प्रयासमा छ । आफुले लाइसेन्स दिएका बैंक वित्तीय संस्थाहरुलाई आफ्नो मुनाफाको एक प्रतिशत कर्पोरेट सामाजिक उत्तरदायित्वमा खर्च गर्नु र त्यो एक प्रतिशतभित्रको ५ प्रतिशत वित्तीय साक्षरतामा लगाउनु भनिएको छ ।
वित्तीय साक्षरताका विभिन्न स्टेपहरु राष्ट्र बैंकले तोकिदिएको छ । जस्तो कि विद्यार्थी, महिला, कृषक, उद्यमी, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरु र विभिन्न सेग्मेन्टका स्टेपहोल्डरहरु भनि छुट्याइदिएको छ । उहाँहरुलाई लक्षित गरेर वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नु भनेका छौं ।
राष्ट्र बैंक आफैले पनि विभिन्न क्षेत्रमा गएर साक्षरताका कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर पनि राष्ट्र बैंकको प्रयासले मात्र त्यो सम्भव छैन । यसमा बैंक वित्तीय संस्था, शिक्षण संस्था लगायत सबै क्षेत्र एक भएर लाग्नुपर्छ । अर्को पाठ्यक्रममा नै वित्तीय साक्षरतालाई समेटियो भने झन् फलदायी हुनेछ । व्यक्तिहरुले पनि आ–आफ्नो क्षेत्रबाट सकेको जति समाजमा साक्षरता प्रसारण गर्दै जानुपर्छ । अनि मात्रै वित्तीय साक्षरता बढ्छ ।
‘अहिले कर्जा लिएर नतिर्ने भन्ने जुन मोमेन्टहरु आइराखेको छ । त्यो पनि वित्तीय साक्षरताको अभावकै कारण भएको हो’
वित्तीय साक्षरताको आवश्यकता झन् बढेर गयो
अहिले वित्तीय साक्षरता अत्यन्त महत्वपूर्ण भएर गएको छ । वित्तीय साक्षरताको अभावले कतिपय अवसरबाट वञ्चित हुनुपर्ने, कतिपय ठाउँमा ठगीने भइ रहेको अवस्था छ । अझ पछिल्लो समय डिजिटल पेमेन्टका कुराहरु पनि आइ राखेको छ । यसका लागि साक्षरता अत्यन्त जटिल विषय बनेको छ । अहिले आफैले जानेर वा नजानेर यी कामहरु गरिरहेका छौं । जसले गर्दा हामी ठगीएका छौं । यसबाट हामी कसरी सुरक्षित रहने भन्ने विषयमा वित्तीय साक्षरताको आवश्यकता झन् बढेर गएको छ ।
सामान्यत वित्तीय साक्षरतामा कानूनी तबरबाट कसरी पैसा आर्जन गर्ने, त्यो पैसालाई कहाँ खर्च गर्ने, कसरी बचत गर्ने, बैंक, खाताका प्रकार, व्याज, कर्जा आदि कुराको ज्ञान हुनु अत्यन्तै जरुरी छ । अहिले कर्जा लिएर नतिर्ने भन्ने जुन मोमेन्टहरु आइ राखेको छ । त्यो पनि वित्तीय साक्षरताको अभावकै कारण भएको हो ।
यदी कर्जा नतिर्दा के हुन्छ ?, र कर्जा लिएपछि तिर्नुपर्छ भन्ने ज्ञान भइदिएको भए यो समस्या आउँदैन्थ्यो । कर्जा कुन प्रयोजनको लागि लिएको हो, सो प्रयोजनका लागि प्रयोग गर्नुपर्छ । अनि मात्रै आफु दिगो हुन सकिन्छ र कर्जा तिर्न पनि सकिन्छ । जसले कर्जाको पासोमा परिँदैन ।
कर्जा लिएपछि तिर्नुपर्छ भन्ने कुरा हामीले जहाँसुकै भन्नुपर्ने हुन्छ । जनताबाटै कर्जा उठाएर ऋण दिने हो । तिरेन भने सबै सिस्टम कोल्याप्स हुन्छ । जसले दुःख गरेर पसिना बगाएर राखेको हुन्छ । जम्मा गरेको छ । कसैले ऋण तिरेन भने उसले फिर्ता पाउँदैन ।
उद्यमशिलता
साना–साना ऋण लिएर आफ्नो आयस्तर उठाउनका लागि लुघवित्त संस्थाहरुले कर्जा दिएर महत्वपूर्ण भूमिका खेलेका छन् । हामीले उत्पादनमै जोड दिनुपर्छ । हामी एकदमै छिटो मुनाफा हुने कुरामा मात्रै धेरै केन्द्रित भएका छौं र त्यसले गर्दा भविष्यमा समस्यामा परेका धेरै उदाहरणहरु छन् ।
साना ठूला उद्यमी र व्यवसायमा समस्याहरु देखिएका छन् । हामीले कमर्सियल बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनीहरु र लुघवित्त वित्तीय संस्थाहरु पनि हेरि राखेका छौं । आफुले लिएको ऋण उत्पादनशिल क्षेत्रमा प्रयोग गरौं । जसबाट केही उत्पादन हुन सकोस् । त्यसलाई सुदपयोग गरौं । जुन प्रयोजनमा लिएको हो त्यहिमा मात्र प्रयोग गरौं । आफ्ना उत्पादनहरु बिक्री गरेर आफु पनि सक्षम र आत्म निर्भर होऔं भन्ने राष्ट्र बैंकको प्राथमिकता हो । महिला उद्यमीहरुलाई राष्ट्र बैंकले धेरै नै प्रोत्साहन गर्ने खालका नीतिहरु ल्याएको छ । भलै ति अपुग होलान् ।
महिलाका लागि अवसर छन्
महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था छ । विपन्न वर्ग कर्जा अन्तर्गत पनि महिलाहरुलाई दिने लोनहरु, २० हजारसम्मको लोनलाई विपन्न वर्ग कर्जामा राख्ने गरेको छ । अरु पनि धेरै त्यस्ता खालका सुविधाहरु छन् । लुघवित्त वित्तीय संस्थाका ९६ प्रतिशत ऋणीहरु महिला हुनुहुन्छ । त्यसकारण महिलाहरुलाई ऋण लिनका लागि त्यति असुविधा छ जस्तो लाग्दैन । उहाँहरुले राष्ट्र बैंकबाट कस्तो सर्कुलर आउँछ, के कस्ता खालका सुविधाहरु छन् भन्ने खालका कुराहरुमा अध्ययन नपुगेको जस्तो लाग्छ ।
लघुवित्त वित्तीय संस्थाहरुले के गरिराखेका छन् । जस्तो व्याजदरका कुराहरु, सेवा सुविधाका कुराहरु, अरु बैंक वित्तीय संस्थाबाट पनि लोन लिइ राख्नु भएको छ । त्यसमा पनि लोन एग्रिमेन्टमा के लेखिएको छ । फिक्स रेटमा लोन लिन लाग्नु भएको छ कि भेरियवल रेटमा लोन लिन लाग्नु भएको छ । सर्तहरु केके हुन् । फिक्स रेटमा लोन दिएको छ भने कति वर्ष परिवर्तन हुँदैन । भेरियवल रेटमा लिएको छ भने कहिले परिवर्तन हुन्छ ? बैंकले के–के सर्त राखेका छन् । बैंक लिने बेलामा सर्तहरु पढ्न भ्याइदैन। हतार–हतार साइन गरिन्छ ।
बैंकले त्यो अनुसार कस्छ अनि आपत पर्छ । त्यो गुनासो राष्ट्र बैंकमा आउँछ । यस्ता कुराहरुमा पनि हेर्नुपर्छ । समय लागोस् हेरेर मात्र हस्ताक्षर गर्नुस् । यो पनि वित्तीय साक्षरताको महत्वपूर्ण कडि हो ।
सम्भावना धेरै छन्
नेपालमा धेरै सम्भावना छ । तपाईहरु उद्यम व्यवसायमा डटेर लाग्नुहोस् । साना, घरेलु, कृषि सामग्रीहरु प्रशोधनसँग सम्बन्धित उद्यमीहरु हुनुहुन्छ । पर्यटनका उत्तिकै सम्भावना छन् । पर्यटन होमस्टेदेखि ठूलाठूला केवलकारसम्मका सम्भावनहरु छन् । रिसोर्ट, होटेल व्यवसायको त्यतिकै सम्भावनहरु छन् । पयर्टकहरु बढेका बढ्यै छन् ।
हाम्रोमा सम्भावना के छ त्यो कुरा हेर्नुपर्छ । सर्टेन ज्ञानको लागि विदेश पनि जानुपर्छ तर फर्किएर आएर यहाँ केही गर्न सकिन्छ । हाम्रा विद्यार्थीहरुलाई प्राविधिक ज्ञान, उन्नतस्तरको शिक्षा दिएर यही फर्काउन सक्नुपर्छ । त्यो भयो भने मात्र देश विकास हुन सक्छ । उल्लेखनीय रुपमा आइटीको निर्यात भइ राखेको छ । आफ्नो घर बसिबसि आइटी निर्यात भएको छ । हाम्रामा सम्भावना धेरै छन् ।
बैंकबाट लोन लिएर खुरुखुरु तिर्यो भने बैंकले अझै धेरै लोन पत्याउँछ । उनीहरुलाई ऋणी कतिबेला भेटौ भन्ने भएको छ । अहिले एउटा बैंकको ऋणी अर्को बैंकमा कसरी तान्ने भन्ने प्रतिस्पर्धामा लागि राखेको अवस्था छ । ऋण दिन बैंकहरु आतुर छन् । तर ऋणको सदुपयोग गर्न सक्ने ऋणी भइदियोस् भन्ने उनीहरु पनि चाहन्छन् । त्यो क्रियटिभिटी पनि हामीले विकास गर्न जरुरी छ । जसका लागि मेहनत अठोट र प्राविधि ज्ञान चाहिन्छ ।
(डा.नीलम ढुंगाना तिम्सिनाले मिडिया इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको ‘फाइनान्सियल लिट्रेसी, विजनेश एण्ड लिडरसीप समिट’ कार्यक्रममा राख्नुभएको मन्तव्यको सम्पादित अंश ।)