September 30th, 2024

आर्थिक समृद्धि र सशक्तिकरणको चावी वित्तीय साक्षरता

सुधिर पण्डित

तपाईलाई अनौठो लाग्न सक्छ । यो संसारमा ८ जना यस्तो मानिसहरु छन्, जसले यो संसारको करिब आधा जनसंख्या भएको सम्पत्तिको बराबर सम्पत्ति बनाएका छन् । ती हुन् संसारका सबै भन्दा बढी धनीहरुको सूचीमा रहेका शिर्ष ८ जना मानिसहरु ।

८ जनाले करिब ४ अर्ब मानिसहरुलाई टक्कर दिनु भनेको धेरैनै ठूलो असमानता रहेको स्पष्ट छ । यो ८ जना भगवाननै पक्कै नहोलान्, नत यिनीहरुसँग दिनमा २४ घण्टा भन्दा बढी हुन्छ । र सबै मानिसको जस्तो दिमाग पनि एउटै हुन्छ । जुन कि यो सब विशेषता हामी सबैलाई प्रकृतिले बराबर दिएको छ । ल एकछिनको लागि यो विषयलाई आधार नमानौ ।

किनकी यो कुरा हामी हेरेको पनि छैनौं र हाम्रो देश समाजको कुरा पनि होइन । फाट्टफुट्ट समाचार, सामाजिक सञ्जाल र केहि रिपोर्टहरुले दिएको हो कुरा हो । तर हाम्रै गाउँ, समाज, शहर, छिमेक र कुटुम्बमा कसैले प्रगतिमाथि प्रगति गरिरहेको र कसैले बाउ बाजेको भएको सम्पत्ति र स्रोत साधनमा जोड्नु परको कुरा त्यही मात्रामा निरन्तरता पनि दिन असक्षम हुन्छन् ।

अर्थात् झन् गरिब हुँदै जान्छन् । हाम्रै सेरोफेरोमा गरिब झन् गरिब र धनी झन् धनी बन्दै गइ रहेको पनि उदाहरणहरु हेरिरहेका हुन्छौं । यो संसारमा वित्तीय साक्षरताको प्रयोगको आधारमा अनेकौं किसिमका मानिसहरु छन् । यो विषय सामान्य होइन र यसलाई अझ धेरै महत्व दिने आवश्यकता रहेको छ ।

विश्वभरको वित्तीय साक्षरता दरको रिपोर्टमा १० सबैभन्दा बढी वित्तीय साक्षर देशहरूमा डेनमार्क, नर्वे, र स्वीडेन छन् । जसको साक्षरता दर ७१% छ। क्यानाडा र इजरायल ६८% साक्षरता दरसहित पछ्याउँछन्, युके ६७% मा, जर्मनी र नेदरल्याण्ड्स ६६% मा, अस्ट्रेलिया ६४% मा, र फिनल्याण्ड ६३% मा छन्।

उक्त रिपोर्टले यो स्पष्ट गर्छ कि विश्वभर उच्च स्तरमा वित्तीय साक्षरता विकसित र उन्नत अर्थतन्त्र भएका देशहरूमा बलियो देखिन्छ, विशेष गरी पश्चिमी युरोप र अंग्रेजी बोल्ने देशहरूमा। त्यस्तै, विश्वभरको वित्तीय साक्षरता दरको रिपोर्टमा बढी अफ्रिकी मुलुकहरु कम भएको देखिन्छन्। पछिल्लो समयमा नेपाल रास्ट्र बैंकको रिपोर्ट अनुसार  नेपालको वित्तीय साक्षरता दर ५७.९ प्रतिशत रहेको छ।

वित्तीय साक्षरताले व्यक्तिलाई आफ्नो आय, खर्च, बचत, र लगानीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्षम बनाउँछ, जसले दीर्घकालीन आर्थिक सुरक्षा र समृद्धि सुनिश्चित गर्दछ।

यसले वित्तीय निर्णय क्षमतामा सुधार गर्दै ऋणको सही व्यवस्थापन, लगानीको उचित छनोट, र आपतकालीन स्थितिको तयारी गर्न मद्दत पुर्‍याउँछ । साथै, वित्तीय ज्ञानले व्यक्तिलाई ठगीबाट जोगाउन, आर्थिक योजना बनाउन, र कर तिर्ने जस्ता समाजिक दायित्व पुरा गर्न सघाउँछ। फलस्वरूप, वित्तीय साक्षरता न केवल व्यक्तिगत स्तरमा, तर समाज र राष्ट्रको आर्थिक समृद्धिमा पनि ठूलो योगदान पुर्‍याउँछ।

वित्तीय साक्षरताको उपलब्धता र अभावले अनेकौं सकारात्मक र नकारात्मक पक्षमध्ये धनी र गरिबहरुको बीचमा ठूलो खाडल बनाउने पनि एउटा महत्वपूर्ण हो । यसलाई उदाहरणको साथ बुझ्दा, अनौपचारिक अथवा छाया बैंकिङ्गको  माध्यम (बैंक तथा वित्तीय संस्था भन्दा व्यक्ति र व्यक्तिबीच हुने आर्थिक लेनदेन) बाट हुने आर्थिक लेनदेनमा  वार्षिक ३६ प्रतिशत देखि ३६५ प्रतिशत (दिनको १ प्रतिशत सम्म) यसरी ऋण लिने मान्छेको कमाई र सम्पत्ति ऋण दिने मान्छेले मज्जाले कब्जा गर्छ र धनी झन धनी र गरिब झन् गरिब हुन पुग्छन्।

वित्तीय साक्षरताको अभावले तपाईसँग भएको स्रोत साधन कम हुँदै जान सक्छन्। उपलब्ध स्रोतलाई प्रयोग गरेर उच्चतम प्रतिफल ल्याउन नसकिने अवस्था हुन सक्छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको दुरुपयोग भएर उत्पादकत्व शिर्षकको कर्जा अनुत्पादकत्व शिर्षकमा खर्च भएर देश र व्यक्ति दुबैको आवश्यकता पुरा नभइ आर्थिक समृद्धि विकास हुँदैन । अनावश्यक खर्च गरेर गरिबी झन बढ्न सक्छ ।

र ऋणमा फस्दै गइन्छ। बचत गर्ने र पूँजी निर्माण गर्नेतर्फ मानिस नलाग्न सक्छ। वित्तीय स्रोत चाहिएको खण्डमा कम शुल्क र ब्याजदर हुन सक्ने ठाउँबाट नलिएर बढी शुल्क र बढी ब्याज लाग्ने ठाउँबाट लिन सक्छन्।

वित्तीय साक्षरता नहुँदा, मानिसहरूले बीमा जस्ता वित्तीय सुरक्षाका उपकरणहरू उपयोग गर्दैनन्, जसले आकस्मिक घटनाहरूमा ठूलो आर्थिक क्षति पुग्न सक्छ। वित्तीय साक्षरताको कमीले गर्दा व्यक्तिगत, पारिवारिक र सामाजमा समेत गहिरो नकारात्मक प्रभाव पर्छ। यसकारण, वित्तीय साक्षरता मानिसको जीवनस्तर उकास्न र दीर्घकालीन आर्थिक सुरक्षाको लागि अति आवश्यक छ।

सरकारी तहमा, सरकारले विद्यालयका पाठ्यक्रममा वित्तीय शिक्षा समावेश गर्नुपर्छ र विभिन्न जनसम्पर्क कार्यक्रममार्फत जनतालाई वित्तीय सेवाहरूको महत्त्व र उपलब्धता बारेमा जानकारी दिनुपर्छ। बैंक र वित्तीय संस्थाहरूले पनि सुलभ र सरल वित्तीय उत्पादनहरूको विकास गर्नुपर्छ र यसका लागि विशेष जनसंख्यालाई लक्षित कार्यक्रमहरू चलाउनुपर्छ। यसरी, व्यक्तिहरू, समुदायहरू, र सरकारको संयुक्त प्रयासले नेपालमा वित्तीय साक्षरतामा महत्वपूर्ण सुधार ल्याउन सक्छ।

विद्यालय, कलेज, मिडिया, बैंक, र वित्तीय संस्थाहरू वित्तीय शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छन्। विद्यालय र कलेजहरूले छात्रहरूलाई वित्तीय ज्ञान र साक्षरता प्रदान गर्ने पाठ्यक्रमहरू समावेश गर्नुपर्छ, जसले उनीहरूको भविष्यको आर्थिक निर्णय क्षमतालाई बलियो बनाउँछ। मिडियाले वित्तीय शिक्षा सम्बन्धी सूचना र कार्यक्रमहरू प्रस्तुत गरेर जनतालाई साक्षर बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यसले वित्तीय विषयमा चर्चा र जागरूकता बढाउँछ।

बैंक र वित्तीय संस्थाहरूले सुलभ र सरल वित्तीय उत्पादनहरूको प्रस्ताव गर्दै, ग्राहकहरूको वित्तीय ज्ञानमा वृद्धि गर्न सहयोग गर्न सक्छन्। उनीहरूले ग्राहकहरूका लागि वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरेर सही निर्णय लिन मद्दत गर्नुपर्छ।

केन्द्रीय बैंकको भूमिका पनि महत्त्वपूर्ण छ। केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई वित्तीय शिक्षा र साक्षरतामा आवश्यक दिशा-निर्देश र अनुगमन गर्नुपर्छ। यसले वाणिज्य बैंकहरू र वित्तीय संस्थाहरूमा वित्तीय साक्षरताको स्तर सुधार्नमा बाध्यपार्छ। यसरी, विभिन्न संस्थाहरूको सामूहिक प्रयासले वित्तीय शिक्षा प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्न सक्छ।

वित्तीय साक्षरताको कमि एउटा सामान्य मानिस सँगसँगै साना, मझौला र ठूलाठूला व्यापारीहरु समेत सामना गर्ने गर्छन्। तर, यस्ता व्यापार र व्यापारीहरुले सामना गर्ने वित्तीय समस्याको अवस्थाहरु अलि फरक प्राकृतिकका हुन्छन्। र यस सम्बन्धमा  योजना बनाउने, निगरानी गर्ने, सल्लाह दिने काम चाहि मुख्यतः अर्थशास्त्र अथवा वित पढेको मान्छे र अनुभव भएको मान्छे चाहिन्छ। यो सेवा भनी नभनी अहिलेका बैंकहरुले दिन्छन् अथवा दिन सक्छन।

तर, व्यापार र यसको परिमाणको अवस्था हेरि एउटा विशेषज्ञलाई नियुक्त पनि गर्न सकिन्छ। जुन कुरा नेपालमा धेरै प्राटिक्समा छैन। र मुख्यतः यसकै कारण धेरै जसो व्यापारहरुको टाट पल्टिने अवस्था आएको छ र बन्द पनि भएका  छन। साना साना व्यापारीहरुको सन्दर्भमा एउटा मुख्य समस्या भनेको व्यापारीक आर्थिक कारोबार र निजि अथवा पारिवारिक कारोबारहरुलाई छुट्याएर काम नगर्नु हो।  यसलाई Business Entity Concept भनिन्छ। र यो पाल्ना नगर्दा अनेकौ आर्थिक समस्याहरु आउन सक्छ।

देशमा रहेको Surplus Sector अर्थात् आवश्यकता भन्दा बढी पैसा भएको क्षेत्रबाट Deficit Sector अर्थात् पैसा चाहिने क्षेत्रमा लगानी गर्ने पुलको भूमिका लगायत अन्य वित्तीय सल्लाह र अन्य दर्जनौं वित्तीय सेवाहरु दिने कानून दोवारा मान्यता प्राप्त  धेरै प्रशस्त बैंक तथा वित्तीय संस्थाहरु हुँदाहुँदै सामान्य बैंकको ब्याजदर दिने हिसाबले बैंक बाटै कारोबार नगर्नु र चर्को ब्याजदरमा अनौपचारिक तरिकाले लेनदेनको कारोबार किन नगरेका होलान् ? स्रोत साधनसँग मिलेको योजना, आवश्यक व्यवस्थापकीय ज्ञान, कानूनी  ज्ञान आदि कुराको अभाव भनेर बुझ्नु पर्दछ । जुन कि वित्तीय साक्षरताको अभावनै हो ।

यसमा कतिपयको बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने सहज प्रक्रिया छैन भन्न सक्नेछन्। तर, बैंक तथा बितिय संस्थाहरु पनि नियामक संस्था नेपाल राष्ट्र बैंक छ, जुन उद्देश्यनै देश र जनताको दिगो आर्थिक विकास हो। जसअन्तर्गत केही निश्चित निर्देशिका बनाइएका हुन्छन् र कर्जा लगानी तथा अन्य वित्तीय सेवा बैंक तथा वित्तीय संस्थाहरुले मनपरी नगरी सम्बन्धित केन्द्रीय बैंकको निर्देशन र अन्य प्रचलित कानून बमोजिम गर्नै पर्ने हुन्छ।

धितो वा बिना धितोको सानो ठूलो गरी विभिन्न priority Sector र priority group of people जस्तै कि कृषि, उधोग, energy ,विपन्न वर्ग, पर्यटन, महिला Empowerment आदि लाई दिइने गरिन्छ।

देशको आवश्यकता अनुरुप राष्ट्र बैंकले नीति, नियम, निर्देशन, सुपरीवेक्षण आदि कामहरु गरिरहेको हुन्छ। अर्थात्  बैंक तथा वित्तीय संस्थाहरुले जथाभावी अथवा मनपरी गर्न पाएनन्।

यसबाट के स्पष्ट हुन्छ कि नीति नियम संगत कसैले कर्जा लिएर आफ्नो व्यक्तिगत अथवा व्यवसायिक उद्देश्य पुरा गर्न चाहन्छ भने मिल्छ गर्न सक्छ र  सजिलै गर्न पाउँछ। तर, Eligibility  नै नपुर्‍यायी स्पष्ट उद्देश्यनै नराखी कसैले कर्जा उपभोग गर्न चाहन्छ भने त्यो अलिक मिल्दैन र फलस्वरूप मिटरब्याज अर्थात्  अनौपचारिक बैंकिङ माध्यममा जान्छ र फस्छ। पछिल्लो समयमा सरकार दोवरा केही नीतिहरु जारीसँगै यस्ता अनौपचारिक लेनदेनहरु केही हदसम्म कम भएको देखिएको छ।

यदि वित्तीय साक्षरता र सम्पत्ति कमाउनु र जोगाउनुको बारेमा अझ छोटकरीमा बुझ्ने हो भने हिन्दीमा भनिने एउटा उखानबाट झन् बढी प्रष्ट हुन सकिन्छ। ‘निर्धन गिरे पहाड से कोइ पुछे ना हाल, धनीको काटा लगे पुछे लोग हजार’ यसबाट के प्रष्ट हुन्छ कि तपाईले आफ्नो अस्तित्वको लागि मात्र भए पनि आर्थिक रुपले समृद्ध हुनै पर्छ, जसको चावी वित्तीय साक्षरतानै हो। तसर्थ, व्यक्तिगत जीवन होस अथवा कुनै ब्यापारिक जीवन  वित्तीय साक्षरता अपरिहार्य तत्व हो।