September 23rd, 2024

एक करोडभन्दा कम कारोबार गर्नेलाई थपिएन आयकर बुझाउने म्याद

बैंकिङ खबर/सरकारले थोरै रकमको कारोबार गर्ने कम्पनीलाई आयकर विवरण बुझाउने म्याद नथप्ने निर्णय गरेको छ। तर, ठूलो रकम कारोबार गर्नेको हकमा भने आयकर विवरण बुझाउने समय थपिएको छ।

आन्तरिक राजस्व विभागले जारी गरेको सूचनामा वार्षिक एक करोडसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको हकमा आय विवरण दाखिला गर्ने म्याद थप नगर्ने सूचनामा उल्लेख छ।

त्यस्तै वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका करदाताका लागि २०८१ मंसिर मसान्त र २५ करोडभन्दा बढी कारोबार गर्ने करदाताको हकमा २०८१ पुस २० गतेसम्म म्याद थप भएको विभागको सूचनामा छ।

आयकर ऐन २०५८ ले प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा अघिल्लो वर्षको आय विवरण दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ। तर, कुनै व्यक्तिले समय थपको माग गरेमा तीन महिनासम्म म्याद थप गर्ने सुविधासमेत दिएको छ।

विभागले असोज ४ गतेको निर्णय भन्दै असोज ७ मा आफ्नो वेभसाइटमा आय विवरण दाखिला गर्ने करद्वाता र कारोबार नभएका निकायले विगतमा म्याद थप लिने गरेकोमा विभागको कम्प्युटर प्रणालीमा बढी भार पर्न गएको हुँदा समय नप्ने निर्णय गरिएको सूचनमा उल्लेख छ।