बैंकिङ खबर/ अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड) ले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । यो ब्याजदर कटौतीपछि अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्न जानेछ ।
विश्वव्यापी कोरोना महामारी शुरुवात भएको चार वर्षपछि फेडले पहिलो पटक ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ देखि ५.५० प्रतिशतको सीमामा थियो ।
बेरोजगार दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछि फेडले ब्याजदर कटौतीको निर्णय गरेको सीएनबीसीले उल्लेख गरेको छ । ब्याजदर कटौतीले श्रम बजारको मन्दी थप घटाउने उसको दाबी छ । बढ्दो बेरोजगारीदर र सुस्त अर्थतन्त्रका कारण गत जुलाई महिनादेखि फेडलाई ब्याजदर कटौती गर्न दबाब सृजना भएको थियो ।
यो कटौतीपछि मूल्यवृद्धिमा थप जोखिम नदेखिएमा सन् २०२४ को अन्त्यतिर थप ०.५० प्रतिशत विन्दु ब्याजदर कटौती हुन सक्ने अनुमान छ । ब्याजदर कटौतीले अमेरिकी नागरिकमात्र नभएर डलरसँग जोडिएका विश्वका केन्द्रीय बैंकहरु जस्तै हङकङ र अन्य खाडीका देशहरु यो निर्णयबाट प्रभावित हुनेछन् ।