September 15th, 2024

शैक्षिक कर्जा उपलब्ध गराउन प्रभु बैंकद्वारा गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

बैंकिङ खबर/ प्रभु बैंकले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेसन हव) स्थापना गरेको छ । उक्त शैक्षिक केन्द्रको उद्घाटन प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनले गरेकी हुन् । बैंकले स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रूपमा उपलब्ध गराउने उद्देश्यले शैक्षिक केन्द्र स्थापना गरेको जनाएको छ ।

बैंकले स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भूमिकालाई मध्यनजर गर्दै आफ्नो प्रदेश कार्यालयअन्तर्गत उक्त विभाग स्थापना गरेको हो । उक्त विभागको स्थापनासँगै उच्च शिक्षा हासिल गर्न विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तीय लागत परिपूर्ति गर्नका लागि यस्तो कर्जाले विद्यार्थीहरूलाई ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैँकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरूमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । यस बैंकका गण्डकी प्रदेशअन्तर्गत ५५ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।