हालै मात्र शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गरेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पुनः ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाल एक करोड दुई लाख रुपैयाँ चुक्तापुँजी भएको संस्थाको शतप्रतिशत हकप्रद वितरण भइसकेपछि चुक्तापुँजी २ करोड ४ लाख रुपैयाँ पुग्नेछ । साथै, जारी पुँजी २ करोड रुपैयाँबाट बढेर ४ करोड रुपैयाँ पुग्नेछ । हकप्रद वितरणको काम अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ ।
उक्त हकप्रद वितरणपछि कायम हुने चुक्तापुँजीबाट ५० प्रतिशत हकप्रद जारी गरेर संस्थाले तीन करोड छ लाख रुपैयाँ चुक्तापुँजी र छ करोड रुपैयाँ जारी पुँजी पुयर्नउनेछ । उक्त पुँजीबाट पनि आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने संस्थाको योजना छ ।
संस्थाले कुल १६ वटा शाखाबाट पाँच हजारभन्दा बढि घर परिवारलाई सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले १ करोड १८ लाख भन्दा बढि रकम बचत संकलन गरी हालसम्म रु.२१ करोड ३४ लाख लगानी गरेको छ । जसमध्ये, ६ करोड ६६ लाख रुपैयाँ असूली भइसकेको छ भने १४ करोड ६८ लाख रुपैयाँ लगानीमा रहेको छ । १० जिल्लाहरु क्रमशः नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, धनकुटा, तेह्रथुम, खोटाङ्ग र भोजपुर कार्यक्षेत्र रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि. ले थप ५ जिल्लाहरु क्रमशः काभ्रेपलाञ्चोक, धादिङ्ग, गोरखा तनहुँ र कास्कीमा आफनो कार्यक्षेत्र विस्तार गर्न नेपाल राष्ट्र बैंक बाट स्वीकृती समेत प्राप्त गरेको छ । यससँगै संस्थाको कार्यक्षेत्र १५ जिल्ला पुगेको छ ।
हालसम्म विभिन्न १५ वटा बैंक तथा वित्तीय संस्था (५ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक तथा ४ वटा वित्त कम्पनी) हरुले ग्रामिण क्षेत्रको विपन्न घर परिवारमा वित्तीय पहुँच पुर्याई आर्थिक गतिविधिको विकास तथा विस्तारको लागि यस वित्तीय संस्था मार्फत संचालित लघुवित्त कारोबारलाई सहयोग गर्दै आइरहेका छन् । यसै आर्थिक बर्ष भित्र संस्थाले ११ हजार भन्दा बढि विपन्न घर परिवारलाई लघु वित्तीय सेवा उपलव्ध गराई करिब ३० करोड लगानी रहने गरी काम गर्ने लक्ष्य लिएको छ ।
यस वित्तीय संस्थाले आफना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने अभिप्रायले विप्रेषण सेवा दिने तयारी पनि गरिरहेको छ ।