बैंकिङ खबर/चीनको केन्द्रीय बैंकले अगस्ट महिनाका लागि सुन खरिद नगर्ने निर्णय लिएको छ । शनिबार सार्वजनिक भएको आधिकारिक तथ्यांक अनुसार बैंकले यस्तो निर्णय लिएको रोयटर्सले उल्लेख गरेको छ ।
चीनको सुनको सम्पति गत महिनाको अन्त्यसम्ममा ७ करोड २८ लाख ट्रॉय औन्स रहेको छ । रिजर्भमा राखिएको सुनको मूल्य भने जुलाईको अन्त्यमा १७६.६४ अर्ब डलरबाट बढेर १८२.९८ अर्ब डलर पुगेको छ ।
यस वर्ष सुनको मूल्य बढिरहेको छ । अमेरिकी ब्याजदर घट्ने सम्भावना र राजनीतिक तथा आर्थिक अस्थिरताबाट उत्पन्न सुरक्षित आश्रयको मागले सुनको माग बढाएको छ ।
धेरै देशका केन्द्रीय बैंकहरुले पनि खरिद गरिरहेका छन् । यस वर्ष सुनको मूल्य २१ प्रतिशतले वृद्धि भएको छ । खरिदमा रोक लगाउनु अघि चीनको पिपिल्स बैंक अफ चाइनाले लगातार १८ महिना सुन खरिद गरेको थियो ।
यो केन्द्रीय बैंक सन् २०२३ मा संसारको सबैभन्दा ठूलो सुन खरिदकर्ता रहेको रोयटर्सले जनाएको छ । यसले खरिद रोक्ने निर्णयले पछिल्ला महिनाहरुमा चिनियाँ लगानीकर्ताको मागलाई कम गरेको छ । बैंकले खरिदलाई कुनै विन्दुमा पुनः शुरु गर्ने अपेक्षा गरिएको छ ।