September 5th, 2024

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढाउन अर्थमन्त्रीको निर्देशन

बैंकिङ खबर/  नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् ।

अदालतमा मुद्दा विचाराधिन रहेको बेलामा बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गर्न मिल्छ कि मिल्दैन भनेर महान्यायाधिवक्ता कार्यालयसँग अर्थ मन्त्रालयले राय मागेको थियो । महान्यायाधिवक्ता कार्यालयले मिल्ने राय दिएपछि अर्थमन्त्रीस् पौडेलले अध्यक्ष नियुक्तिका लागि यसअघि सुरु भएको प्रक्रिया पुनः अघि बढाउन निर्देशन दिएका हुन् ।

पुरानै प्रक्रियालाई अघि बढाउने गरी अर्थमन्त्रीले निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ । निर्देशन अनुरुप केही दिनमा प्रक्रिया अघि बढ्ने छ । अदालतमा मुद्दा विचाराधिन भएको बेलामा सरकाले नयाँ प्रक्रिया अघि बढाउन नसक्ने भएकोले पनि पुरानै प्रक्रियालाई नयाँ सिराबाट अघि बढाउन लागिएको हो ।

यस अघि सर्ट लिस्टमा परेका सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा दायर गरेको मुद्दामा असार १८ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

२१ असारमा न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले असार १८ को अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएपछि आगामी माघ ३० मा मात्रै अर्को सुनवाइ हुने भएकाले अर्थमन्त्री पौडेलले पुरानै प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।