कारोबार खुलेको डेढ घण्टा पनि नहुँदै दुई पटक सर्किट ब्रेक लागेको सेयर बजारमा आश्चार्यजनक वृद्धि देखिएको छ । दोस्रो सर्किटपछि १२ बजेर ४२ मिनेटमा खुलेको बजार तीन बजेसम्ममा ४१.२९ अंकले बढेर बन्द भएको हो । बजार खुलेको दुई घण्टामा १४०४ अंकसम्म पुगेको बजार पछिल्लो दुई घण्टामा बढेर १५१०.७७ अंकमा कायम भएको छ ।
उत्पादनमूलकबाहेक सोमबार कारोबार भएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १४८.२३ अंकले बढेको छ भने होटल ७०.३४, बैंकिङ ५१.९२, जलविद्युच् ३५.६५ र विकास बैंक २४.३२ अंकले बढेका छन् । यसबाहेक, फाइनान्स र अन्य समूह क्रमशः १२.९२ र ८.६७ अंकले बढेका छन् । उत्पादनमूलक समूह भने १२.१४ अंकले घटेको छ ।
कारोबार रकममा पनि सुधार आएको छ । सेयर बजारमा निरन्तर आएको गिरावटले ठूला कम्पनीको सेयर मूल्य एकाएक घटेसँगै सेयर किन्नेको संख्या बढेपछि कारोबार रकममा सुधार आएको हो । आइतबार ९५ करोड ६० लाख रुपैयाँको कारोबार भएको बजारमा सोमबार एक अर्बमाथिको कारोबार भएको छ । दिनभरिमा एक सय २४ वटा कम्पनीको १३ लाख ८८ हजार पाँच सय ६१ कित्ता सेयर छ हजार छ सय ६७ पटक खरिदबिक्री हुँदा कुल एक अर्ब नौ करोड ५४ लाख ६१ हजार तीन सय ५७ रुपैयाँ पुँजी परिचालन भएको हो ।
सोमबार पनि सबैभन्दा धेरै कारोबार एभरेष्ट बैंककै भएको छ । बैंकको १५ करोड ९१ लाख १५ हजार सात सय ८९ रुपैयाँ पुँजी परिचालन भएको छ । त्यस्तै, बैंक अफ काठमाण्डू लुम्बिनीको छ करोड ६० लाख, शिखर इन्स्योरेन्सको पाँच करोड, नेपाल लाइफ इन्स्योरेन्सको चार करोड ८८ लाख र सिद्धार्थ बैंकको चार करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको तीन करोड ८७ लाख रुपैयाँको कारोबारम भएको छ भने लुम्बिनी जेनेरल इन्स्योरेन्सको तीन करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको पनि तीन करोडमाथिको कारोबार भएको छ । एसियन लाइफ इन्स्योरेन्स, कुमारी बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले कमाएका छन् । सगरमाथा फाइनान्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स र प्रभु इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.९४, ९.९३, ९.८४, ९.३९ र ९.०६ प्रतिशतले कमाएका छन् । यसबाहेक, सूर्या लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, हिमालयन जेनेरल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि धेरै कमाएका छन् ।
त्यस्तै, जेविल्स फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ६.५८ प्रतिशतका दरले गुमाउँदा कालिका माइक्रोक्रेडिटका सेयरधनीले ५.८० प्रतिशतका दरले गुमाएका छन् । सृजना फाइनान्स, बरुण हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, बोटलर्स नेपाल लगायतका सेयरधनीले पनि गुमाएका छन् ।