बैंकिङ खबर/ साउन महिनामा शेयर लगानीकर्ताहरुले पूँजीगत लाभकर बापत ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ तिरेका छन् । नेपाल सिडीएस एण्ड क्लियरिङका अनुसार यो अन्य समयको भन्दा एक महिनामै उठेको सर्वाधिक उच्च राजस्व हो ।
असार १६ गतेदेखि शेयर बजार निरन्तर बढीरहेको छ । साउन महिनामा मात्र यसअघिको उच्च कारोबारको रेकर्डलाई तोड्दै बजारले नयाँ रेकर्ड बनाएको थियो । कारोबार उच्च भएसँगै सरकारलाई बुझाउनुपर्ने पूँजीगत लाभकर पनि बढ्न पुगेको छ ।
साउन महिनामा मात्रै ४ खर्ब १८ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । नेप्से सूचक ७६०.३३ अंक अर्थात् २९.८३ अंकले बढेको छ । यो महिना पूँजीबजारको इतिहासमा सर्वाधिक कारोबार भएको थियो । हालसम्म २९ अर्ब ९५ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको थियो ।
आर्थिक वर्ष २०७७\०७८ मा लगानीकर्ताहरुले पूँजीगत लाभकर बापत १५ अर्ब ५४ करोड रुपैयाँ तिरेका थिए । नेप्से सूचक उच्च अंकले बढेर भदौ २ गते ३ हजार १९८ विन्दुमा पुगेको थियो । त्यस समयमा २१ अर्ब ६४ करोड रूपैयाँकाे सर्वाधिक कारोबार भएको थियो ।