August 1st, 2024

तत्कालै सेयर धितो कर्जाको सीमा नहट्ने

बैंकिङ खबर/ मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई दिइएको २० करोड रूपैयाँको सीमा तत्कालन नहट्ने भएको छ । नेपाल राष्ट्र बैंकले उक्त सीमा हटाउन आनाकानी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिका व्यवस्थाहरु कार्यान्वयन गर्न बुधबार साँझ जारी गरेको परिपत्रमा संस्थागत सेयर लगानीकर्तालाई लगाएको क्याप हटाउन भने नचाहेको हो ।

केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा व्यक्तिगततर्फ १५ करोडको क्याप यथावत राखी संस्थागततर्फको खारेज गर्ने उद्घोष मौद्रिक नीतिमार्फत गरेको थियो । तर, बुधबार परिपत्र जारी गर्दैगर्दा सो व्यवस्था कार्यान्वयन गर्न आवश्यक नठानेको हो ।

पछिल्लो समय राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको क्याप घटाउने उद्घोष गरेर सेयर बजारप्रति लचिलो देखिएका थिए । राष्ट्र बैंक सेयर बजारप्रति सकारात्मक सन्देशसहित धितोपत्रको दोस्रो बजारमा उत्साह छाएको थियो ।

संशोधित एकीकृत निर्देशनमा मौद्रिक नीतिमार्फत शेयर लोनका लागि ल्याइएको व्यवस्थाबारे भने केही बोलिएको छैन। मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई शेयर लोनमा लगाइएको क्याप खारेज गरिएको छ।

यसअघि संस्थागत लगानीकर्ताले २० करोड रुपैयाँसम्म शेयर लोन लिन पाउने व्यवस्था थियो। व्यक्तिगततर्फको शेयर लोन १५ करोड रुपैयाँको क्याप भने यथावत नै राखिएको छ। संस्थागततर्फ खारेज भएको शेयर लोनको क्यापसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छैन।

मौद्रिक नीतिमार्फत घोषित व्यवस्थाबाट राष्ट्र बैंक पछि हट्दैनः प्रवक्ता पौडेल

यता नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले हालै सार्वजनिक गरिएको मौद्रिक नीतिमा घोषित व्यवस्थाबाट राष्ट्र बैंक पछि नहट्ने बताएका छन् । राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा व्यक्तिगततर्फ १५ करोडको क्याप यथावत राखी संस्थागततर्फको खारेज गर्ने उद्घोष मौद्रिक नीतिमार्फत गरेको थियो ।

तर बुधबार साँझ राष्ट्र बैंकले सार्वजनिक गरेको परिपत्रमा भने सो व्यवस्था कार्यान्वयनका बारेमा उल्लेख गरिएको छैन । जसका कारण लगानी कर्ताहरुमा दुविधा छाएको छ । राष्ट्र बैंकका प्रवत्ता रामु पौडेलले मौद्रिक नीतिमा भएका व्यवस्थाहरु क्रमशः कार्यान्वयन गर्दै लगिने बताए । घोषित व्यवस्थाबाट राष्ट्र बैंक पछि नहट्ने र बुधबार सर्कुलरमार्फत नआएका विषय अर्को सर्कुलरमार्फत पुनः आउने उनको भनाइ छ ।

Circular-1-ABC-Final-Upload