कन्काई विकास बैंकले झापाको राजगढस्थित राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेलले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । शाखा बिस्तारसँगै बैंकको शाखा सञ्जाल १० पुगेको छ । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच बिस्तार गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
शाखाको उद्घाटन गर्दै राष्ट्र बैंकका निर्देशक रामु पौडेलले कृषिजन्य उत्पादनको व्यापारमा राजगढबासीलाई बैंकले सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने अपेक्षा व्यक्त गरे । उनले राजगढ र आसपासका ग्रामिण क्षेत्रमा कृषिजन्य उपजको व्यवसाय प्रवद्र्धन गर्दै वित्तीय सेवाको पहुँच बढाउनेमा आफु विश्वस्त रहेको बताए ।
उद्घाटन समारोहमा बोल्दै कन्काई विकास बैंकका संस्थापक अध्यक्ष गुणराज अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले पुर्वी नेपालमा कन्काई विकास बैंकलाई स्तरीय बैंकका रुपमा स्थापित गर्दै लैजाने बताए ।
कार्यक्रममा श्रम तथा यातायात सहायक मन्त्री टेनारायण राजबंशीले बैंकलाई प्रतिष्ठित संस्थाको रुपमा स्थापित हुँदै उच्च गुणस्तरको सेवा प्रदान गर्न शुभकामना व्यक्त गरे ।
मोरङको विराटनगर र इलामको बिब्ल्याँटे बजार तथा तिनघरे बजारमा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको बैंकले निकट भविष्यमा नै ती शाखा सञ्चालनमा ल्याउँदैछ ।
चुक्तापूँजी १२ करोड ५० लाख रुपैंया रहेको बैंकले २ सय १४ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । त्यसै गरी गतवर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशतबोनस बितरणको प्रस्ताव गरेको बैंकको हकप्रद निष्काशन तथा बोनस बितरण पश्चात चुक्तापूँजी ४७ करोड रुपैंया पुग्नेछ । राष्ट्र बैंकले तोकेको पूँजी ५० करोड बनाउने क्रममा रहेको बैंकलाई यस अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै बैंकका सञ्चालक तथा व्यवस्थापकले सबै पक्षको सुझावको अपेक्षा गरेका छन् ।