एनएमबि बैंकको अन्तर्राष्ट्रिय साझेदार नेदरल्याण्डको एफएमओ (फिनेन्सीयरिङ्स मात्चापिज–वुर ओन्टविक्केलिङक्ल्याण्डेन) ले एनएमबि बैंकमा रहेको लगानी बढाएको छ । एफएमओले आफ्नो लगानी ३ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको हो ।
एफएमओसँगको नयाँ सम्बन्धबाट एनएमबि बैंकलाई उर्जा, अन्तर्राष्ट्रिय व्यापार र पुँजी बजारमा ठोस सहयोग पुग्ने विश्वास लिइएको छ । साथै, बैंकको जोखिम बहन गर्न सक्ने क्षमता अभिवृद्धि भई पूर्णतः सबल र सक्षम संस्थाको रुपमा स्थापित हुन एनएमबि बैंकलाई मद्दत मिल्ने विश्वास लिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपटी गभर्नर चिन्तामणि शिवाकोटीले विदेशी लगानी बढाउन सफल भएकोमा एनएमबि बैंकलाई बधाई दिए । उनले भने, ‘म एनएमबि बैंकलाई बधाई दिन चाहान्छु, अब विदेशी लगानीलाई नेपालको ग्रामिण विकासमा पनि खर्च गरिनेछ भन्नेमा मलाई विश्वास छ ।’
धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बैंकिङ क्षेत्रमार्फत विदेशी लगानी भित्रिरहेको भन्दै बैंकिङ क्षेत्र सुरक्षित र भरपर्दो बन्दै गईरहेको बताए ।
कार्यक्रममा बोल्दै एफएमओका चिफ इन्भेष्टमेन्ट अफिसर लिण्डा ब्रोक्हुजेनले एफएमओको यो लगानी नेपालको वित्तीय क्षेत्रकै ठुलो एफडीआई (प्रत्यक्ष विदेशी लगानी) रहेको बताइन् । यसबाट नेपालको समग्र वित्तीय क्षेत्रमा समेत सकारात्मक टेवा पुग्ने विश्वास एफएमओले लिएको उनको भनाई थियो ।
त्यस्तै, एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्यानले एफएमओसँगको यो सहकार्य एनएमबि बैंकका लागि अर्को कोसेढुंगा सावित हुने बताए । उनले यस सम्बन्धबाट बैंकको थप प्रगति हुने विश्वास समेत व्यक्त गरे ।
एनएमबि बैंकका सीइओ उपेन्द्र पौडेलले एमएफओसँगको सहकार्य अझ प्रभावकारी र उपलब्धिमूलक ढंगले अघि बढ्ने बताए । उनले नेपालका ग्रामिण क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्नुपर्ने औँल्याए ।
एफएमओ नेदरल्याण्ड सरकारको समेत लगानी रहेको अन्तर्राष्ट्रिय द्धिपक्षीय विकास बैंक हो । कार्यक्रममा एमएमओका अन्य प्रतिनिधि,विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिध तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।