
बैंकिङ खबर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारको अर्थमन्त्री विष्णु पौडेल बन्ने भएका छन् । पार्टी शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाइ सकेको छ । एमालेले उपाध्यक्ष पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ ।
ओलीका विश्वासपात्र मानिएका पौडेल यसअघि पनि पटक– पटक अर्थमन्त्री बनेका व्यक्ति हुन् । देशको शिथिल रहेको अवस्थामा, निजी क्षेत्र निराश रहेको अवस्था र खर्च गर्न नसक्ने अवस्थामा उनको यो कार्यकाललाई निकै चासोका रुपमा लिइएको छ । बजेट कार्यन्वयन गरेर अर्थतन्त्र सुधार गरेर लागु पर्ने उनीमा चुनौती पनि छ ।
को हुन् पौडेल
२०३३ सालतिर पौडेल कलेज पढ्न भिनाजु गोपीरमण उपाध्यायको घरमा आएका थिए । उपाध्यायको घरमा तत्कालीन कोअर्डिनेशन केन्द्र र मुक्ति मोर्चाको बैठक हुन्थ्यो । जेल ब्रेक गरेर भुमिगत हुँदै उपाध्यायको घरमा पुगेका प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिस्कार गरेर राजनीतिमा आउनुपर्छ भनेपछि १७ वर्षीय पौडेल पढाइ छोडेर कम्युनिस्ट आन्दोलनमा होमिएका थिए ।
माक्सवादी दर्शनका ज्ञाता भिनाजु गोपीरमणको प्रेरणा र प्रदिप नेपालको सुझावले बुर्जुवा शिक्षा बहिस्कार गरेका पौडेल नेपाली कम्युनिष्ट आन्दोलनको दोश्रो पुस्तामा निर्विकल्प नेता बनेर उदाए । लामो समय लुम्बिनी अञ्चलका विभिन्न जिल्लामा भुमिगत भएर काम गरेका पौडेलले २०३७ सालमा मोदनाथ प्रश्रीतहरु संगै भैरहवा जेलब्रेक गरेका थिए ।
२०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि छद्म नामको प्रयोग गरेर रुपन्देही नवलपरासी पाल्पा अर्घाखाँची र गुल्मीमा पार्टीको काममा सक्रिय रहे । २०४६ सालमा बहुदलिय व्यवस्था स्थापनापछि तत्कालीन नेकपा मालेले पौडेललाई राष्ट्रिय परिषद् सदस्य बनाएर महाकाली अञ्चल इन्चार्जको जिम्मेवारी दिएको थियो । २०४७ सालमा नेकपा माले र माक्र्सवादीपार्टी बीच एकीकरण भएर नेकपा एमाले बनेपछि पौडेल तत्कालिन एमालेको केन्द्रीय सदस्य भएका थिए ।
२०५१ सालमा एमालेले अल्पमतको सरकार बनाउँदा उपप्रधानमन्त्री भएर माधव नेपाल सरकारमा गएपछि वामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टी सञ्चालनको जिम्मेवारी दियो । गौतम उपमहासचिव भएपछि रिक्त भएको संगठन विभाग प्रमुखको जिम्मेवारी पौडेले पाएका थिए ।
पहिलो पटक ०५१ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट लडेका पौडेलले चुनाव जितेका थिए । त्यो सरकार ९ महिनामा ढल्यो । ०५४ सालमा बामदेव नेतृत्वमा बनेको सरकारमा युवा तथा खेलकुद मन्त्री भए ।
महाकाली सन्धि पारित गर्ने कि नगर्ने भन्ने विवाद तीब्र भयो । त्यसबेला पौडेलले आफुलाई महाकाली सन्धिको विपक्षमा उभ्याए । २०५१ सालमा पाल्पाबाट निर्वाचन जितेका पौडेललाई ०५६ को संसदीय निर्वाचनमा एमालेले रूपन्देही–३ बाट उठायो तर कांग्रेसका सूर्यप्रसाद प्रधानसँग करिब ६ सय मतान्तरले पराजित भएका थिए ।
पौडेल निर्वाचन हारेपनि रुपन्देहीका मतदातासँग नजिकिएर काम गरे । जसका कारण ०६४ सालको पहिलो संविधानसभा चुनावमा सोही क्षेत्रबाट निर्वाचित भए । २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बने भने तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बने ।
०७० सालको दोस्रो संविधानसभा चुनावमा उनले रुपन्देहीबाट पूर्व प्रधानमन्त्री तथा त्यसबेलाका प्रभावशाली माओवादी नेता बाबुराम भट्टराईलाई हराएका थिए । पौडेलको कार्य कुशलता प्रदर्शन गर्न सफल पौडेल प्रभावित भएर २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बने । जुन नेपाली राजनीतिक इतिहासमा सबैभन्दा सफल अर्थमन्त्रीको रुपमा आफुलाई उभ्याउन सफल भए ।
०७४ रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले उपमहासचिव पौडेलले कांगे्रसका युवराज गिरीलाई २२ हजार ६३ मतान्तरले पराजित गदै त्यस क्षेत्रबाट लगातार तेस्रो जित हासिल गरेका थिए । नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल ३ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाए ।
पार्टीभित्रै ओली, प्रचण्ड, नेपाल र गौतमबीच एकता गराउने सूत्रधार पनि थिए । यसैको एमाले र माओवादीलाई मिलाउन सक्ने सन्तुलित क्षमता बुझेर दुवै अध्यक्षको रोजाइमा नेकपाको महासचिव जस्तो जिम्मेवारी उनले पाएका थिए ।
२०७४मा भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पौडेल निर्वाचित भएका थिए । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका थिए ।
सफल अर्थमन्त्री
आफ्नो कार्यकालमा केही विवादित भएपनि पौडेल सफल नै मानिन्छन् । छोटो समय तर पटक–पटक उनी अर्थमन्त्री भइ सकेका छन् ।
शक्तिशाली भूकम्पले अर्थतन्त्रको जगलाई हल्लाएको थियो भने संविधान जारी हुनु अघिदेखिको तराई बन्द र भारतले गरेको नाकाबन्दीले अर्थतन्त्र ध्वस्त भएको अवस्थामा उनले अर्थतन्त्रलाई पुनरुत्थान गरेका थिए ।
दोस्रो पटक अर्थमन्त्री हुँदा देशको अर्थतन्त्र कोरोना भाइरसका कारण ध्वस्त भएको थियो । उक्त समयमा पनि उनले सफलता पूर्वक काम गरेका थिए । अर्थमन्त्रीको पद सम्हालेपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान उनले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
उनको कार्यकालमै एक घर एक रोजगारी, किसानलाई पेन्सन, शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा लगायतका लोकप्रिय कार्यक्रमहरु ल्याएका थिए ।
शेयर बजारले रुचाएका पौडेल
पौडेल शेयर लगानीकर्ताका लागि फलदायी अर्थमन्त्री मानिन्छन् । उनकै कार्यकालमा २०७८ भदौ २ गते नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा ३ हजार १९८ विन्दुमा पुगेको थियो ।
सबैको कुरा सुन्ने र अर्थतन्त्रका बहुआयामिक पाटोलाई राम्रोसँग केलाउन सक्ने अर्थमन्त्रीका रुपमा उनी सबैसामु चिनिन्छन् । निजी क्षेत्र र विदेशी साझेदारहरुसँग पनि बलियो सम्बन्ध स्थापित गर्न सक्ने उनको खुबी छ ।
पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै सुस्त रहेको शेयर बजार एकसातामै एक वर्षअघिको विन्दुमा फर्किएको छ । पौडेलकै पुनरागमन हुनेछ भनेर निजी क्षेत्रले अब लगानीको वातावरण बन्ने र अर्थतन्त्रमा लयमा फर्किने आशा गरिसकेको छ ।
उद्योगी व्यवसायीसहित लगानीकर्ताले विष्णुप्रसाद पौडेल अर्थमन्त्रीका रुपमा आए नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय बीच समन्वय मिल्न गइ अर्थतन्त्रका समस्या समाधान हुने आशा राखेका छन् ।