November 23rd, 2016

विदेशमा दुःख गरेर पठाएको रेमिट्यान्स लाउन-खानमै ठिक्क

moneyविदेशमा पसिना बगाएर कमाएको धन यतिखेर अनुत्पादन क्षेत्रमा खर्चिने क्रम बढ्दै गएको छ । श्रीमान् विदेश गएपछि श्रीमती बालबच्चासहित सहरको डेरामा बस्न थालेपछि अनावश्यक रुपमा खर्च बढेको हो । पाल्पास्थित कसेनीको सराइ बजारमा डेरामा बस्दै आएकी पार्वती थापा श्रीमानले पठाएको रकम बचत हुन नसकेको बताउँछन् । “गाउँको घर जग्गा छोडेर डेरामा बसेपछि दिनहुँ अनावश्यक क्षेत्रमा खर्च भइरहेको छ,” उनले भने– “समय सापेक्ष कपडा लाउनै पर्याे, टेलिभिजन हेर्नैपर्यो, श्रीमान् विदेश गएपछि राम्रो मोबाइल पनि चाहियो नै ।” छोराछोरीलाई बोर्डिङमा पढाउँदा श्रीमानले पठाएको मासिक ३० हजार रुपैयाँले घरव्यवहार चलाउन मुस्किल हुने गरेको उनको भनाइ छ ।

श्रीमान् विदेशीएपछि दुई वर्षको बच्चा बोकेर सहलकोटदेखि रामपुर झरेकी खेमकुमारी चिदी पनि दश वर्षको अवधिमा घडेरीबाहेक अरु केही सामान जोड्न नसकेको बताउँछिन् । विदेशबाट पठाएको रकम घरखर्च, लत्ताकपडा, घरभाडा, मोबाइल खर्चलगायत गरेर करिब २० हजार रुपैयाँ मासिक रुपमा खर्च हुने गरेको छ ।

एउटा तथ्याङ्कअनुसार जिल्लामा यतिखेर विदेशबाट दैनिक रुपमा ५० लाख रुपैयाँभन्दा बढी रकम भित्रिने गरेको छ । तर उत्पादनमूलक कार्यमा भने न्यून रकम लगानी हुन्छ । वैदेशिक आम्दानी घर घडेरी, घरायसी खर्च, विलासिताका सामग्री खरिदमा मात्र सीमित बनेको छ । रासस