बैंकिङ खबर/ दुई इन्स्योरेन्स कम्पनीहरूले हकप्रद शेयर निष्काशनका लागि बोर्डसँग अनुमति माग गरेका छन् । एशियन लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।
प्रभु इन्स्योरेन्स हाल कायम चुक्ता पूँजीको ५० दशलमव १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असार १९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ८३ लाख ५० हजार १३५ दशमलव ४४ कित्ता हकप्रद शेयर निष्काशन प्रक्रिया अगाडि बढाएको हो ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रूपैयाँ पुर्याउन निर्देशन दिएसँगै यस कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड रूपैयाँ रहेको छ । उक्त हकप्रद शेयर निष्काशन बाँडफाँटपश्चात् पूँजी २ अर्ब २७ करोड रूपैयाँ भन्दा बढी पुग्नेछ । हकप्रद पछि अपुग पूँजी कम्पनीले बोनस शेयरमार्फत पुर्याउन सक्नेछ ।
त्यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न जेठ २३ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्काशन प्रक्रिया अगाडि बढाएको हो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रूपैयाँ रहेको छ । ४२ प्रतिशत हकप्रद शेयर निष्काशन बाँडफाँट पछि पूँजी ४ अर्ब ८२ करोड ७७ लाख रूपैयाँ भन्दा बढी पुग्नेछ ।