July 12th, 2024

बैंकबाट ऋण लिएर सेयर किन्ने बढे : १ करोड भन्दा बढी ऋण लिने बढी

बैंकिङ खबर/ पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर किन्ने लगानीकर्ताहरुको संख्या बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०÷८१ जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

पछिल्लो एक महिनामा सवा अर्ब रुपैयाँ बैंकबाट ऋण लिएर लगानीकर्ताहरुले सेयर खरिद गरेका छन् । चालु आवको साउनदेखि जेठ मसान्तसम्म आइपुग्दा १० अर्ब ८० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।
गत वर्षको असार मसान्तसम्ममा भने बैंकहरुले कुल ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने यस्तो कर्जा १४.१६ प्रतिशत बढेर ८७ अर्ब ११ करोड २७ लाख रुपैयाँ कायम भएको छ ।

लगानीकर्ताले जेठमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब १६ करोड रुपैयाँ ऋण लिएर सेयर खरिद गरेका छन् । राष्ट्र बैंकका अनुसार भदौमा ३ अर्ब ३३ करोड रुपैयाँ बैंकबाट ऋण लिएर लगानीकर्ताले सेयर किनेका छन् । यस्तै, गत पुसमा पनि ३ अर्ब १० करोड बराबरको सेयर धितो कर्जा प्रवाह भएको देखिन्छ ।

हाल औसतमा मासिक १ अर्ब हारहारीमा सेयर धितो कर्जा भएको तथ्याङकमा उल्लेख छ । चालु आवको महिलो महिनामा अर्थात् साउनमा १० करोड, कात्तिकमा १४ करोड, मंसिरमा ३ करोड, माघमा ८८ करोड, फागुनमा ५३ करोड, चैतमा ४८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । तर, गत बैशाखमा भने उल्टो २३ करोड रुपैयाँले घटेको देखिन्छ । त्यसपछि भने फेरि बढेको तथ्याङ्कले देखाउँछ ।

यस्तै पछिल्लो समय १ करोड भन्दा माथिको सेयर धितो कर्जा लिने बढेका छन् । यस्तो सीमाको कर्जा २०.४२ प्रतिशत वृद्धि भएको देखिएको छ । जेठसम्म आइपुग्दा यस्तो सीमाको सेयर कर्जा ५३ अर्ब ८४ करोड ७० लाख बढी प्रवाह भएको छ । जबकि गत असार मसान्तसम्ममा भने ४४ अर्ब ६१ करोड ६० लाख रहेको थियो ।

सो सीमामा एक महिनामै (जेठमा मात्रै) १ अर्ब ३ करोड बढी कर्जा प्रवाह भएको हो । गत बैशाखसम्म भने कुल ५२ अर्ब ८१ करोड ४० लाख बढी कर्जा प्रवाह भएको थियो । यस्तै, समीक्षा अवधिमा २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सीमामा सेयर कर्जा प्रवाह पनि दोहोरो अंकमा बढेको छ। यस्तो सीमा प्रवाह हुने कर्जा १०.५९ प्रतिशत वृद्धि भई १४ अर्ब १३ करोड ४० लाख नाघेको छ । गत असारमसान्तसम्ममा भने यस्तो सीमाको कर्जा १२ अर्ब ७८ करोड बढी रहेको थियो । यस्तै, २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ३.३१ प्रतिशत वृद्धि भई ७ अर्ब २६ करोड ८० लाख पुगेको छ । ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा प्रवाह भने सुस्त देखिएको छ । समिक्षा अवधिमा यस्तो सीमाको कर्जा ०.७५ प्रतिशत बढेर ११ अर्ब ८६ करोड कायम भएको छ ।