July 11th, 2024

रिलायन्सको आईपीओ रोक्न उच्च अदालतको आदेश

बैंकिङ खबर/ उच्च अदालतले पनि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न आदेश दिएको छ । उच्च अदालत, पाटनले बुधबार रिलायन्सको आईपीओ तत्कालका लागि रोक्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो । बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी रिलायन्सको थियो ।

रिलायन्सको आईपीओ निष्कासन गर्दा बुक बिल्डिङ विधिको दुरुपयोग भएको, तथ्यांक र प्रक्षेपण तोडमतोड गरिएको, लेखा परीक्षणमा समस्या रहेको लगायतका विषय राख्दै यसमा लगानी गर्दा सर्वसाधारणको हित नहुने भन्दै हरिबहादुर केसीसहितका लगानीकर्ताले अदालतमा रिलायन्सको आईपीओ निष्कासन तत्काल रोकेर फेरि मूल्यांकन गरी मूल्य तोक्न माग गर्दै अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डविरुद्ध रिट निवेदन दिएका थिए ।

उच्च अदालतले अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्न दुवै पक्षलाई साउन १४ गते छलफलका लागि बोलाएको छ ।