July 4th, 2024

‘ब्याड बैंक’ के हो ?, अवधारणा र महत्व

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा बढ्दै जान थालेपछि ’ब्याड बैंक’ ल्याउने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको बताए । गभर्नर अधिकारीले ब्याड लोन उठाउन कम्पनी आवश्यक महसुस भएको बताए ।

काठमाडौंमा हालै आयोजित कार्यक्रममा अधिकारीले कम्पनी ऐनले स्थापना भएको कम्पनीले यो काम गर्न सहज नहुने भन्दै यसका लागि विशेष किसिमको ऐनको आवश्यकता महसुस गरिएको बताए । तर, यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा थप छलफल गर्ने गभर्नर अधिकारीले बताए ।

के हो खराब बैंकको अवधारणा ?

खराब बैंकको काम खराब सम्पत्तिलाई असल सम्पत्तिमा परिवर्तन गर्नु हो । खास गरी बैंकहरूमा हुने खराब कर्जाहरूलाई व्यवस्थापन गर्ने गरी ती बैंकको वासलातबाट त्यस्ता कर्जा हटाएर खराब कर्जाका कारण बिग्रिएको बैंकको वित्तीय स्वास्थ्यलाई स्वस्थ बनाउने प्रयास गर्नु नै ‘खराब बैंक’को उद्देश्य हो ।

त्यसैले यस्ता ‘खराब बैंक’ले अन्य बैंकहरूले जस्तो निक्षेप स्वीकार गर्ने र ऋण प्रदान गर्ने काम गर्दैन । वास्तवमा समग्र बैंकहरूको खराब कर्जाको व्यवस्थापन गर्ने अभिभारा बोकेको कारण मात्र यसलाई खराब बैंक भनिएको हो । भन्नलाई ‘खराब बैंक’ भनिए पनि भारतमा स्थापना गर्न प्रस्ताव गरिएको यस्तो कम्पनीको औपचारिक नाम ‘पुनर्निर्माण तथा सम्पत्ति व्यवस्थापन कम्पनि’ भएबाट पनि यसले बैंकिङ कारोबार नगर्ने कुरा स्पष्ट हुन्छ ।

विश्व बैंकिङ इतिहासमा सबैभन्दा पहिला खराब बैंकको अवधारणालाई कार्यान्वयन गर्न श्रेय भने अमेरिकी ‘मेलन बैंक’लाई जान्छ । यो बैंकले सन् १९८८ मा स्थापना गरेको ‘ग्रेट स्ट्रीट नेसनल बैंक’लाई खराब बैंकको एउटा राम्रो उदाहरणका रूपमा लिइन्छ । यो ‘खराब बैंक’ले मेलन बैंकको १ अर्ब डलर बराबरको खराब कर्जालाई किनेको थियो । मेलन बैंकका शेयर होल्डरलाई पहिले शेयर र पछि लाभांशसमेत दिएर स्थापनाको ७ वर्षपछि उद्देश्यअनुरूपका सम्पूर्ण कार्यहरू सफल रूपमा सम्पन्न गरी सन् १९९५ मा यो बैंक विघटन गरिएको थियो ।

पछि, स्वीडेन, फिनल्यान्ड, फ्रान्स, जर्मनीजस्ता यूरोपका कतिपय सशक्त अर्थतन्त्रहरूमा समेत यस्तै खाले बैंकहरू स्थापना गरिएका थिए । आइरल्यान्डले पनि राष्ट्रिय अर्थतन्त्र मन्दीमा गएको बेला सन् २००९ मा यस्तै ‘खराब बैंक’ को स्थापना गरेको थियो ।

 

नेपालमा कस्तो छ बैंकहरुको खराब कर्जाको अवस्था

चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको कुल खराब कर्जा औसत ३.९८ प्रतिशत छ। खुद खराब कर्जा करिब १.१४ प्रतिशत मात्रै छ।

कर्जा वर्गीकरण अनुसार, राखिएको प्रावधान रकमलाई निष्क्रिय कर्जा बराबरको रकमबाट घटाउँदा खुद खराब कर्जा आउँछ। यसरी प्रावधान रकमलाई नघटाई निष्क्रिय कर्जा अन्तर्गतको उठ्न बाँकी रहेको कर्जा रकमलाई कुल खराब कर्जा भनिन्छ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल खराब कर्जा थप बढेर चार प्रतिशत हाराहारी पुग्ने बैंकरहरूले बताइरहेका छन्। केही बैंकरहरू भने अहिले बैंकहरूलाई करिब २० प्रतिशत बराबरको कर्जामा समस्या भइरहेको बताउँछन्।

हाल बैंकहरूले ५१ खर्ब ४१ अर्ब रूपैयाँ बराबरको कर्जा लगानी गरिरहेका छन्। बैंकरहरूकै भनाइलाई आधार मान्ने हो भने, कम्तीमा दस खर्ब २८ अर्ब रूपैयाँ बराबरको कर्जामा समस्या आइरहेको मान्न सकिन्छ।

बैंकर्समा छटपटी

असार मसान्त नजिएकैसँगै बैंक वित्तीय संस्थाहरू यतिबेला क्लोजिङको चटारोमा छन्। यसवर्ष अर्थतन्त्र संकुचन भइ खराब कर्जा बढ्दा बैंकका प्रमुख कार्यकारी अधिकृतहरू विगतका वर्षभन्दा बढी नै दबाबमा छन्।

चालु आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकहरूको खराब कर्जा ४ प्रतिशतमाथि पुग्ने भएपछि बैंकर्समा छटपटी बढेको छ। राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधा हटाएको र निष्कृय कर्जा नियमित भएको ६ महिनापछि मात्रै असल कर्जामा देखाएर १.२० प्रतिशत प्रोभिजनिङ गर्न पाइने व्यवस्थाका कारण पनि बैंकहरूको खराब कर्जा थप बढ्ने भएको हो। बढ्दो खराब कर्जाले बैंकहरूको प्रोभिजनिङ बढ्ने र वितरणयोग्य घाटा बढ्दा पुँजीकोषमा दबाब पर्ने समस्या आउने भएको छ ।

अर्थतन्त्र चलायमान भएमा चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्ममा देखिएको वाणिज्य बैंकको औषत खराब कर्जा ३.८९ प्रतिशतलाई कम गराउने अपेक्षा बोकेका बैंकहरू वर्षको अन्त्यमा आएर निराश भएका छन्।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एउटा बैंकको खराब कर्जा ५ प्रतिशतमाथि पुगेकोमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप चार बैंकहरूको खराब कर्जा ५ प्रतिशतमाथि पुग्ने अवस्था रहेको बैंकर्सले बताउन थालेका छन्।

बैंकहरूको खराब कर्जा बढ्दा खराब कर्जासम्बन्धी प्रोभिजनिङ पनि बढ्ने भएकाले एक दर्जनभन्दा बढी बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक हुने देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक छ ।

वर्षको अन्त्यसम्ममा यस सूचीमा थप दुई बैंक थपिँदै एक दर्जन वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक हुन देखिएको हो।