June 19th, 2024

राष्ट्र बैंकको अध्ययन भन्छ,‘बैंकिङ स्थायित्वमै जोखिम बढ्यो’(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा जोखिम बढेको निष्कर्ष निकालेको छ । केन्द्रीय बैंकले वित्तीय स्थायीत्वको अवस्थामा गरेको अध्ययन अनुसार समग्र बैंकिङ स्थायित्व मै जोखिम बढेको निष्कर्ष निकालेको हो ।

केन्द्रीय बैंकले विभिन्न सूचकहरुका आधारमा बैंकिङ स्थायित्व सूचक तयार गर्छ । उक्त सूचक तयार गर्दा सम्पत्तिको गुणस्तर, पुँजीकोषको अवस्था, तरल सम्पत्ति, प्रभावकारीता र नाफा उप–सूचकलाई विश्लेषण गरिन्छ । बैंक तथा वित्तीय संस्थाको यी पक्षहरुको विश्लेषणबाट समग्र बैंकिङ प्रणालीको अवस्था पहिचान हुन्छ । सो अनुसार गत आर्थिक वर्षमा बैंकिङ स्थायित्व सूचक ०.६९ प्रतिशतमा पुगेको छ । अघिल्लो अवमा यस्तो सूचक ०.४० प्रतिशत थियो ।

बैंकिङ स्थायित्व सूचकमा आएको वृद्धिले समग्र बैंकिङ स्थायित्वकै जोखिम बढेको देखाउँछ । बैंकिङ क्षेत्रको तरलता र प्रभावकारीता जोखिम क्रमीक रुपमा घट्दै गएको केन्द्रीय बैंकको अध्ययनले औँल्याएको छ । तर, सम्पत्तिको गुणस्तर, पुँजीकोष दबाब र संवेदशीलता तर्फको जोखिम भने बढ्दै आएको छ । त्यसैले बैंक तथा वित्तीय क्षेत्रको प्रभावकारी तथा सुपरिवेक्षकीय कार्यहरु बढाउनु पर्ने अध्ययनले औँल्याएको छ ।

राष्ट्र बैंकका अनुसार अनुसार अघिल्लो आर्थिक वर्षको असारको तुलनामा गत आवको असारसम्ममा बैंकिङ स्थायित्व सूचक बढेको छ । यो सूचक बढ्नुको कारण बैंक तथा वित्तीय संस्थाका अधिकांश पक्षहरको जोखिम बढेको देखिन्छ । यसको मूख्य कारण भनेको बैंक तथा व्त्तिीय संस्थाको सम्पत्तिको गुणस्तरमा आएको कमी हो ।

बैंक तथा वित्तीय संस्थाको सम्पत्तिको गुणस्तरमा कमी आउने वित्तिकै नाफा घट्ने तथा थप पुँजीको आवश्यक पर्ने अवस्था हुन्छ ।
सम्पत्तिको गुणस्तरमा आएको गिरावटले सम्पत्तिमा प्रतिफल र इक्वीटीमा प्रतिफल समेत घट्ने गर्छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाको संवेदनशीलता सूचक समेत बढेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । यसको मूख्य कारणको रुपमा जोखिम भारीत सम्पत्ति बढ्नु हो ।

केन्द्रीय बैंकको अध्ययन अनुसार गत आर्थिक वर्षमा थोक तथा खुद्रा क्षेत्रको कर्जा २०.१५ प्रतिशत रहेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले प्रबाह गरेको कर्जा मध्ये उपभोग्य कर्जा १८.९८, बन तथा उत्पादन १६.०४, कृषि तथा वनमा ७.५७ र वित्त, बीमा तथा रियल स्टेट क्षेत्रमा ७.९८ प्रतिशत हिस्सा रहेको छ । यी क्षेत्रमा धेरै कर्जा केन्द्रीत भएकाले पनि जोखिम बढेको केन्द्रीय बैंकको निष्कर्ष छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्