June 19th, 2024

सेबोनको अध्यक्षको अन्तरवार्ता : आजपनि ३ जना उम्मेद्वार अनुपस्थित

बैंकिङ खबर/धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि सर्टलिस्टमा परेका ३ जना उम्मेद्वार बुधबार पनि अन्तरवार्ताका लागि अनुपस्थित भएका छन् ।

अर्थ मन्त्रालयले गत आइतबार उपस्थित नभएका ३ जनालाई कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्ताका लागि बुधबार बिहान ९ बजे डाकेको थियो । तर आज पनि ३ जना उम्मेद्वार अनुपस्थित भएका हुन् ।

गत आइतबार बोलाइएको कार्ययोजना तथा अन्तरवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तरवार्ताका लागि गएका थिए । सर्टलिस्टमा परेका मध्ये डा.नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागार्इं गरी ३ जनाले भने अन्तरवार्ता बहिष्कार गरेका थिए ।

यससँगै बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द हुने सम्भावना देखिएको छ । सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।