November 20th, 2016

पैसा भएर पनि छैन पाल्पालीसँग, बिरामीले पाएनन् उपचार

ic-500भारत सरकारले भारु एक हजार र पाँच सयको नोटको कारोबारमा रोक लगाएसँगै पाल्पा जिल्लाका सर्वसाधारणले सास्ती खेप्नु परेको छ । भारतमा सेना, प्रहरी, तथा अन्य काम गर्ने नेपालीले भारु नोट भित्र्याउने गरेका छन् । 

भारतमा काम गर्दै आएका मुझुङग– १ का बाबुराम दर्नाल दसैँमा ल्याएको भारु पाँच सय र एक हजारका नोट सटही गर्न नपाएको बताउँछन् । “पैसा भएर पनि नभएको जस्तो भएको छ,” उनले भने । 

भारु पाँच सय र एक हजारको नोट बोकेका अन्यको अवस्था पनि दर्नालको जस्तै छ । भारु साट्न गाह्रो भएको छ । सबैभन्दा बढी मारमा बिरामी परेका छन् । जिल्लाको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न आएका भारतीय नागरिक समेत मारमा परेका छन् । 

राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखाका प्रबन्धक मित्रलाल नेपाली भारु नोट बंैकमा समेत नभएकाले सटही हुन नसक्ने बताउँछन् । 

भारतले रोक लगाएसँगै नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले कात्तिक २५ गतेदेखि भारु नोटको कारोबारमा रोक लगाएको छ । भारु सटहीका लागि बैंक धाउनेहरु सटही नहुँदा फर्किने गरेका छन् । रासस