सिनर्जी फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ दशमलव १४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमसमा सिनर्जीले ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
४७ करोड ४४ लाख नौ हजार रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सले निक्षेपमा ३ दशमलव ४८ प्रतिशतले वृद्धि गरी १ अर्ब ८७ करोड १६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ फाइनान्सले १९ दशमलव ४५ प्रतिशतले वृद्धि गरी १ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको छ । सिनर्जीको खुद व्याज आम्दानी ८५ लाख रुपैयाँ पुगेको छ भने संचालन १ करोड ३ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।
असोज मसान्तसम्ममा फाइनान्सको निष्कृय कर्जा २३ दशमलव ५१ प्रतिशत, जोखिम युत्त सम्पत्ति ५ दशमलव ४२ प्रतिशत, प्रतिशेयर आम्दानी १ दशमलव १२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १ सय ४९ दशमलव ५६ गुणा र प्रतिशेयर नेटवर्थ २० रुपैयाँ रहेको छ ।
भक्तपुर फाइनान्स कम्पनी लिमिटेडको मुनाफा पनि ९ दशमलव ७८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २६ लाख रुपैयाँ नाफा कमाएको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा २३ लाख रुपैयाँ नाफा कमाएको छ ।
२१ करोड रुपैयाँ चुक्ता पूँजी भएको भक्तपुर फाइनान्सको निक्षेप गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४ दशमलव ४ प्रतिशतले घटेर ४५ करोड ११ लाख रुपैयाँ संकलन भएको छ । कर्जातर्फ फाइनान्सले ४६ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ८ दशमलव ८७ प्रतिशतले बढेर ७५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १० दशमलव ४० प्रतिशतले घटेर ३६ लाख रुपैयाँ पुगेको छ ।
फाइनान्सले प्रोभिजनमा १५ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा १ करोड ६७ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा फाइनान्सको निष्कृय कर्जा ५ दशमलव ४६ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ४० दशमलव १८ प्रतिशत रहेको छ ।