भिबोर विकास बैंक र सोसाईटी डेभलपमेन्ट बैंक एकआपसमा मर्ज भएको बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ३४ लाख २४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भिबोर सोसाईटीको नाफा थोरै बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले तीन करोड तीन लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
एक अर्ब ८१ करोड १५ लाख चार रुपैयाँ चुक्तापुँजी भएको बैंकले १४ अर्ब ४० करोड ६० लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ६७ करोड ६४ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले चार अर्ब ९५ करोड १६ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब चार करोड ३५ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको सञ्चालन मुनाफामा यो अवधिमा ४८.५७ प्रतिशतले वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ४६ लाख ८४ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा १४ करोड ४७ लाख ३६ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । खुद व्याज आम्दानीमा पनि बैंकले उल्लेख्य प्रगती गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ७९ लाख ८० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा १२ करोड ६३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा २.३१ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा गत आर्थिक वर्षको तुलनामा बढेको हो । गत आर्थिक वर्षको असोज मसान्तमा बैंकको यस्तो कर्जा ०.९८ प्रतिशत मात्रै थियो । त्यस्तै, बैंकको प्रतिसेयर नेट वर्थ १०३.७७ रुपैयाँ, प्रतिसेयर वार्षिक आम्दानी १९.४१ रुपैयाँ र तरलता ३०.०५ प्रतिशत रहेको छ ।