November 15th, 2016

एनएमबि माइक्रोफाइनान्सले सुरु गर्यो क्षमता अभिबृद्धि तालिम

nmb-microfinanceएनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नयाँ फिल्ड कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले क्षमता अभिबृद्धि तालिम सुरु गरेको छ । उक्त तालिमको पोखराको न्युरोडस्थित दर्शन होटलमा एनएमबि माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले मंगलबार उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले लघुवित्तको परिचय, लघुवित्तको इतिहास, नेपालमा लघुवित्तको सुरुवात लगायतका विषयबारे स्पष्ट पारे । उनले विशेष गरी लघुवित्तको कार्यक्षेत्र देशको हिमाली र पहाडी जिल्लाहरुमा केन्द्रित रहेको जानकारी गराए । गाउँघरका महिला सदस्यहरु आर्थिक रुपले विपन्न भए तापनि उनीहरु इमान्दारी, मेहनती र विश्वासिलो हुने भएकाले सो क्षेत्रमा लघुवित्त कार्यक्रम प्रभावकारी उनले बताए ।

उक्त तालिम लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश, पुर्वतालिम, संचालन प्रक्रिया लगायतका बारेमा हरुकावारेमा केन्द्रित रहने बताइएको छ । त्यसैगरी, फिल्डमा काम गर्ने कर्मचारीहरुमा लघुवित्तको बारेमा आवश्यक ज्ञानका साथै अन्य विविध क्षेत्रको ज्ञान आवश्यक रहेकोले सोही ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको कोनाजोले बताए । उनले हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्न वर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले सो क्षेत्रको वातावरण बुझि सोहीअनुसार ब्यवहार गर्नुपर्ने कुरामा जोड दिए । 

२ दिनसम्म संचालन हुने सो कार्यक्रममा एनएमबि माइक्रोफाइनान्सका विभिन्नि शाखा कार्यालयहरुमा २१ जना प्रशिक्षार्थीहरुले ७ दिनको फिल्ड अवधारणा भ्रमण गरी प्राप्त सिकाईको आधारमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नेछन् । साथै फिल्डको अनुभव तथा सिकाईहरु आदान प्रदान गर्दै फिल्डमा देखिएका राम्रा पक्ष र समस्या पत्ता लगाई समस्याको समाधानका उपायहरुका पहिचान समेत गरिनेछ ।