नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १६ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ६२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकले ४४ करोड ४३ लाख रुपैंया मात्र नाफा कमाएको थियो ।
६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ६७ दशमलव ९५ प्रतिशतले बढेर १ अर्ब १७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा २ सय ५२ दशमलव २० प्रतिशतले बढेर ४७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ११ दशमलव ६८ प्रतिशतले वृद्धि गरी ८६ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ६६ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छ ।
यो अवधिमा ६ करोड ९५ लाख रुपैंया खराब कर्जा उठाएको बैंकले जोखिम व्यवस्थापन कोषमा १७ करोड ९३ लाख रुपैंया राखेको छ भने जगेडा कोषमा १ अर्ब ५३ करोड ४५ लाख रुपैंया राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा ३ दशमलब १० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १२ दशमलब १२ प्रतिशत रहेको छ ।
बैंंकको प्रतिशेयर आम्दानी ७१ दशमलव ७६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७ दशमलव २९ गुणा, प्रतिशेयर नेटवथ १ सय २३ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात २४ दशमलव २५ प्रतिशत रहेको छ ।