November 14th, 2016

डिप्रोक्स लघुवित्तले कमायो ६ करोड ९३ लाख नाफा

deproxडिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० दशमलव ४६ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा डिप्रोक्सले ४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

२५ करोड ७९ लाख २३ हजार आठ सय ४५ रुपैयाँ चुक्तापुँजी रहेको बैंकले निक्षेपमा गत वर्षको तुलनामा ३९ दशमलव ९३ प्रतिशतले वृद्धि गरी १ अर्ब २६ करोड ५६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ ४ अर्ब ३० करोड ५३ रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले तीन अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

गत वर्षको असोज मसान्तको तुलनामा चालू आवको असोज मसान्तमा डिप्रोक्सको खुद व्याज आम्दानी ३८ दशमलव १८ प्रतिशतले बढेर १५ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ४८ दशमलव ३३ प्रतिशतले बढेर ८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । 

बैंकले सम्भावित नोक्सानी व्यवस्थामा २ करोड २९ लाख रुपैयाँ राखेको भने सम्भावित नोक्सानी व्यवस्थाबाट १ करोड ९१ लाख रुपैयाँ उठाउन सफल भएको छ । त्यस्तै जोखिमयुक्त सम्पत्ति १७ दशमलव ३७ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ७४ प्रतिशत रहेको छ ।

प्रतिशेयर आम्दानी २६ दशमलव ८९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १ सय २ दशमलव ७३ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ९८ दशमलव ८४ रुपैयाँ र तरलता अनुपात ८ दशमलव १७ गुणा रहेको छ ।